Logo
Logo

इजरायल जान हवाई भाडा प्रतिव्यक्ति ८० हजार घट्यो



काठमाडौं । इजरायलमा कामदार लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको छ । एयर अरेबियाले ५९ हजार नौ सय ९० रुपैयाँमा नेपाली कामदारलाई इजरायल लैजान तयार भएको हो ।

रोजगारीमा जान अन्तिम छनोटमा एक हजार एक सय ७५ कामदार छनोट भएका छन् । अब उनीहरूको नौ करोड ४० लाख रुपैयाँ लागत घट्ने भएको हो ।

यसअघि वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जाने कामदारबाट हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, पिसिआरसहित एक लाख ६५ हजार सात सय तोकेको थियो । जसमध्ये विभागले एक लाख ४० हजार रुपैयाँ हवाई भाडाबापत खर्च तोकेको थियो ।

विभागले नेपाल एयरलाइन्समार्फत कामदारलाई इजरायल पठाउन सो भाडादर निर्धारण गरेको होे । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हवाई भाडादर अत्यधिक भएको भन्दै नेपाल एयरलाइन्सको विकल्प खोज्न निर्देशन दिएपछि विभागले टेन्डर आह्वान गरेको थियो ।

‘नेपाल एयरलाइन्ससँग बार्गेनिङ गरेपछि एक लाख २० हजारसम्ममा सहमत भयो । तर, अन्य एयरलाइन्सले त्यसभन्दा कममा लैजान्छौं भनेपछि हामीले टेन्डर आह्वान गरेका हौँ,’ मन्त्री श्रेष्ठले भने ।

विभागले ९ पुसमा सूचना प्रकाशित गरी एयरलाइन्स कम्पनीहरूसँग प्रस्ताव माग गरेपछि आठवटा एयरलाइन्स कम्पनीले आवेदन दिएका थिए । जसमध्ये सबैभन्दा कम मूल्य सी लिंक होलिडेज कम्पनीबाट प्रस्ताव गरेको एयर अरेबिया छनोट भएको हो । इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए)ले एक हजार एक सय ७५ जना कामदारलाई छनोट गरेको छ ।

यस्तै, केयर गिभरका लागि इजरायल जाने नेपाली कामदार मासिक पारिश्रमिक करिब पौने दुई लाख पाउने भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन् ।

इजरायलको सरकारले तोकेअनुसार कामदारले मासिक एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) पारिश्रमिक पाउनेछन् । कामदारले हप्ताको ४२ घन्टा काम गर्नुपर्नेछ । वैदेशिक रोजगार विभागले ५ माघमा पहिलो चरणमा एक सय २५ जना नेपाली युवालाई इजरायल उडाउने भएको छ ।

(यो समाचार नयाँपत्रिका दैनिकमा मुना कुवँरले लेखेकी छन्)

प्रतिक्रिया दिनुहोस्