Logo
Logo

अफगानिस्तानका ८० प्रतिशत पत्रकारले पेसा परिवर्तन गरे



काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि झन्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेसा परिवर्तन गरेका छन् ।

अफगानिस्तानको पत्रकार फाउन्डेशनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् ।

जीविकोपार्जनका निम्ति अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।

पूर्व सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छ वटा रेडियो स्टेशन बन्द भएका छन् ( तीमध्ये पाँच वटा आर्थिक चुनौतीका कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ’, पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गरेको छ ।

फाउन्डेशनको निष्कर्षले के देखाएको छ भने अफगानिस्तानका पत्रकारहरूमध्ये ९१ प्रतिशतले यो पेसा रोजेकोमा सन्तुष्ट छन् भने आठ प्रतिशत मात्रै खुसी छैनन्, खामा प्रेसले उल्लेख गरेको छ ।

अफगानिस्तानभर चार सय ६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये तीन सय ९० पुरुष र ७२ महिला थिए ।

केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्युजले रिपोर्ट गरेको छ ।

फाउन्डेशनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारहरूको पेसागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्