Logo
Logo

बताससँग नारायणहिटी संग्रहालयभित्र क्यान्टिन सञ्चालनबारे सम्झौता तोडिने



काठमाडौं । बतास अर्गनाइजेशनसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन सञ्चालनबारे सम्झौता तोडिने भएको छ ।

छानविन समितिले बुझाएको प्रतिवेदनमा कानुनविपरीत ठेक्का सम्झौता गरिएको पाइएपछि बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताससँगको ठेक्का सम्झौता तोडिने बताएका छन् । उनले नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन बनाउन अब नयाँ ठेक्का समेत नलाग्ने बताए ।

बतास समूहले मनपरी संरचना बनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समिति गठन गरेको थियो । ती संरचना मन्त्रालयले भत्काइसकेको छ ।

गणतन्त्र स्थापनापछि संस्कृति मन्त्रालय मातहत राखिएको नारायणहिटी दरबार संग्रहालयलाई विकास समितिमा लैजाने निर्णय तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा भएको थियो । उक्त निर्णयले नारायणहिटी दरबारका संरचनालाई व्यावसायिक प्रयोजनमा ल्याउन सजिलो भएको थियो ।

साथै, नारायणहिटी प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन् । अनुसन्धानपछि क–कसको के संलग्नता भन्ने प्रष्ट हुने मन्त्री आलेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्