Logo
Logo

वीर अस्पतालका ३० भन्दा बढी कर्मचारी संक्रमित



काठमाडौं । पछिल्ला समय कोरोनाको जोखिम बढेसँगै धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् । बिहीबार मात्र एकैदिन त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।

त्यस्तै, वीर अस्पतालका ३० जनाभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । गएको दुई दिनयता उनीहरु संक्रमित भएको अस्पतालले जनाएको छ ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार कोरोना संक्रमितको संख्या थपिँदै गएसँगै स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिन थालेको छ । वीर अस्पतालको विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको डा. बस्नेतले बताएका छन् ।

चिकित्सकहरुका अनुसार केही दिनयता अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर बृद्धि भएको छ । एकै रातमा वीर अस्पतालमा १४ जना संक्रमित अस्पताल भर्ना भएको उनले बताए ।

अहिलेकै रफ्तारमा भर्ना संख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिने उनको भनाइ छ । हाल वीरमा ५३ जना संक्रमितको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार ५ सय बेडसम्म सञ्चालन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्