Logo
Logo

भाँडियो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया



काठमाडौं । दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति टुटेको छ ।

शुक्रबार सम्पन्न हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको विशेष प्रस्ताव अस्वीकृत गरेको हो । मर्जर विषयमा सेयरधनीहरुबीच विवाद भएपछि उक्त प्रस्ताव पारित हुन नसकेको हो ।

फाइल तस्बिर

मर्जर सम्बन्धी प्रस्तावमा सहमति हुन नसकेपछि बैंकले मतदानमार्फत पारित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रबार मतदान भएको हो । मर्जर प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयरधनीले स्वीकृत जनाउनुपर्ने थियो ।

बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए । उनले भने,
‘विशेष प्रस्ताव पारित हुन ७५ प्रतिशत मत चाहिन्थ्यो, सञ्चयकोषसहितका ठूला लगानीकर्ता विपक्षमा देखिँदा प्रस्ताव पारित हुन सकेन ।’

हिमालयन बैंकमा संचय कोषको १४.८७ प्रतिशत सेयर लगानी छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यसरी ३६.५८ प्रतिशत सेयरधनीको असहमतिपछि हिमालयन बैंकको साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुन नसकेको हो ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेदेखि नै हिमालयन बैंक सञ्चालक समितिमा मतभेद देखिएको थियो । संस्थापक लगानीकर्ताहरु हबिब बैंक, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल र खेतान समूह मर्जरको पक्षमा रहेका थिए भने संचय कोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेसनल विपक्षमा रहँदै आएका थिए । यही कारण समझदारी पत्रमा हस्ताक्षर भएको करिब ९ महिना पछि यी दुबै बैंकको मर्जर प्रक्रिया रद्द हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्