Logo
Logo

मेयरका उम्मेदवारसहित २४ जना एकीकृत समाजवादीमा प्रवेश



ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार रहेका प्रदीपसिंह थापा र माओवादी पूर्व लडाकु विष्णु कठायत ‘जिवन’ सहित २४ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेको भातृ संगठन अनेमसंघ र प्रेस चौतारी परित्याग गरेकाहरुलाई शुक्रबार पार्टी कार्यालय सातदोवाटोमा केन्द्रीय कमिटिका उपमहासचिव जगन्नाथ खतिवडा लगायतका नेताहरुले स्वागत गरेका हुन् ।

स्वागत गर्दै उपमहासचिव खतिवडाले प्रगतिशील राजनीतिक परिवर्तन, संविधान संसद र राष्ट्रियता जोगाउने पक्षधरको ध्रुवीकरणको उपयुक्त गन्तव्य एकीकृत समाजवादी भएको बताए । विभिन्न पार्टी छोडेर एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर बढेको बताउँदै खतिवडाले रुपान्तरण सहितको पुनर्गठनले मात्रै कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिने बताए ।

आफ्नै कारणले नेकपा एमाले पतनको दिशामा गएको बताउँदै खतिवडाले अहिले संसदको चौथो दलको रुपमा रहेको एकीकृत समाजवादी निर्वाचनबाट एमालेभन्दा ठूलो दल बन्ने दावी गरे ।

कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले दक्षिणपन्थी विसर्जनमा भार्सिएको राजनीतिक दलहरुबाट देशलाई मुक्ति दिन एकीकृत समाजवादीको विकल्प नभएको बताए । नीति कार्यक्रम र कार्यान्वयन शैलीले आफूहरु भिन्न ढंगबाट अघि बढ्ने भएकाले स्वतन्त्र रुपमा आफ्नो क्षमताले स्थापित व्यक्तिहरु एकीकृत समाजवादीमा आकर्षित भएको बताए ।

केन्द्रीय सदस्य उमेश शर्मा बजगाईले एकीकृत समाजवादी पार्टीले संविधान र कम्युनिष्ट आन्दोलनको मर्म अनुसार समाजवादी कार्यक्रम लागू गर्ने बताए । नेकपा एकीकृत समाजवादीका कजिल्ला अध्यक्ष हरिकृष्ण थापाले कम्युनिष्ट आन्दोलनको मूलधार विद्रोहको इतिहासबाटै निर्माण भएको बताउँदै नयाँ इतिहास निर्माण गर्ने गरी आफूहरु अघि बढेको बताए ।

जिल्ला कमिटिद्धारा आयोजित कार्यक्रममा प्रवेश गरेकाहरुलाई उपयुक्त जिम्मेवारी दिइने जिल्ला कमिटि सचिव सुदर्शन मिश्रले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्