Logo
Logo
कला

‘गायन र मोडलिङ मेरो प्यासन हो’





पेसाले नर्स हुन् रिता शासंकर । नर्स भएकै कारण उनी अष्ट्रेलिया पुगिन् । हाल अष्ट्रेलियामा रहेकी रिताको परिचय यतिमै काफी छैन् । उनी गायिका तथा मोडल पनि हुन् । उनको हालैमात्र ‘तिमी विना’ गीत आएको छ । सानैदेखि गुनगुनाउन मनपराउने रिता एक समय गायनलाई करिअर बनाउने सोचमा पुगेकी थिइन् । तर, उनी नर्स बनिन् । नेपालमा नर्सको जागीर गर्दागर्दै सन् २०१४ मा नर्सिङमा ब्याचुलर गर्न उनी अष्टे«लिया पुगेकी हुन् । त्यहाँ पुगेर पनि आफ्नो इच्छालाई मर्न दिइनन् । त्यसैको उदाहरण हो, ‘तिमी विना’ । गायनसँगै मोडलिङमा रुची राख्ने रिता भन्छिन्, ‘गायिका बन्ने सानैदेखिको इच्छा हो । तर, बल्ल पूरा गर्दैछु ।’ अष्ट्रेलियामा बसेर गायन र मोडलिङलाई निरन्तरता दिने उनको सोच छ । भोजपुरदेखि धरान हुँदै अष्ट्रेलियालाई कर्मथलो बनाएकी रितासँग दृष्टिको जम्काभेट :

मीठो गाउनु हुँदोरहेछ । गायनमा लाग्नुभएको कति भयो ?

सानैदेखि गाउँथेँ । गायन मेरो प्यासन हो । स्कुल पढ्दैखेरी विभिन्न स्टेजहरुमा गाउँथेँ । तर, आफ्नो गीत रेर्कड गर्न पाएको थिइनँ । बल्ल आफ्नो इच्छा पूरा गर्दैैछु ।

के कारण इच्छा पूरा गर्न ढिलाइ भयो ?

पेसाले म नर्स हुँ । स्कूल पढ्र्दै गर्दा गायिका बन्छु भनेर सोचेकी थिएँ । तर, एसएलसीपछि नर्सिङको पढाइ सुरु गरेँ । त्यसपछि झापाको एक अस्पतालमा काम सुरु गरेँ । सन् २०१४ मा नर्सिङमा ब्याचुलर गर्न भनेर अष्ट्रेलया आएँ । त्यसैले गायनको इच्छा पूरा गर्न सकेकी थिइनँ ।

यस पटक इच्छा पूरा गर्ने अवसर कसरी मिल्यो ?

पछिल्लो लकडाउनको समय म हजुरआमालाई भेट्न नेपाल आएकी थिएँ । मेरो हजुर आमा कोभिडले वित्नुभयो । कोभिडकै कारण म पनि सात महिना नेपालमा अड्किएँ । त्यो बेला गीत रेर्कड गर्ने मुड चलेपछि रेर्कड गराएँ । मैले गीत गाउनुको अर्को कारण मेरो हजुरआमा पनि हुन् ।

तपाइँको ‘तिमी विना’ बोलको गीत हजुरआमाप्रति समर्पित हो ?

त्यो गीत हजुरआमाको सम्झनामा गाएकी हुँ । यो मेरो पहिलो गीत हो, जसले हजुरआमाको सधैं स्मरण गरिरहने छ किनकि, हजुरआमा भेट्न आएकै बेला उक्त गीत गाएकी हुँ । तर, उहाँ हामीबीच रहनुभएन ।

गीत सार्वजनिक गर्नेवित्तिकै अष्ट्रेलया हिँड्नुभयो । अरु गीत कहिले सुन्न पाइन्छ ?

मेरो अरु तीन वटा गीत तयार हुँदैछन् । एउटा गीतको चाँडै भिडियो बन्दैछ । अब लगातार मेरो गीतहरु आउँदैछन् ।

आफ्नो पहिलो गीतबाट प्रतिक्रिया कस्तो पाउनुभयो ?

एकदमै राम्रो । मैले अपेक्षा गरेभन्दा पनि सकरात्मक प्रतिक्रियाहरु आइरहेका छन् । नेपालमा मात्र नभएर अष्ट्रेलियामा भएका साथीभाइबाट पनि माया र हौसला पाइरहेकी छु ।

भिडियोमा आफैँ देखिनुभएको छ । मोडलिङमा पनि तपाइँको रुची हो ?

हो, सानोमा गाउनेमात्र होइन, नान्थे पनि । नाच्न र गाउन रुची भएकाले मोडलिङमा पनि मलाई इच्छा थियो । अहिले पनि मलाई मोडलिङ मनपर्छ ।

गायन र मोडलिङमध्ये एकमात्र रोज्नुपर्दा के गर्नुहुन्छ ?

गायन रोज्छु किनकि, नर्सिङ पेसाबाहेक गायनलाई प्राथमिकतामा राखेकी छु ।

परदेशमा बसेर गीतसंगीतलाई निरन्तरता दिन सम्भव छ ?
इच्छा र रुची भए अवश्य सकिन्छ । फुर्सदको समयमा संगीतको अभ्यास गर्दै आएकी छु । संगीत मेरो प्यासन हो । त्यसैले पेसा र प्यासनलाई सँगसँगै अगाडि बढाउने मेरो उद्देश्य हो ।

अष्ट्रेलियामा तपाइँको नर्सकै जागीर हो ?

हो, पाँच वर्षदेखि नर्सिङकै जागीर गर्दैछु । अष्टे«लियामा नर्सको जागीर राम्रो छ । त्यसैले नेपालबाट यहाँ पढ्न आएकामध्ये झण्डै ६० प्रतिशत नर्सिङमा छन् ।

अष्ट्रेलयाको पिआर भइसक्नुभएको छ । नेपाल विरानो लाग्दैन ?

पिआर लिएर कोही विरानो बन्दैन । संसारको जुनै कुनामा रहेपनि मन त नेपाली नै हो । पिआर भएपछि सुविधा र काम गर्नु सजिलो हुन्छ भन्नेमात्र हो । अष्ट्रेलियाको पिआर भएरै यहाँ रहेका नेपालीले आफ्नो देशका लागि विभिन्नखाले सहयोग गर्दै आएका छन् । सुरुमा आफू सक्षम भएपछि अरुलाई सहयोग गर्ने हो ।

पिआरकै लागि अष्ट्रेलिया जान खोज्नेहरु पनि छन् नि ?

नेपालमा सिस्टम नै छैन । त्यही भएर होला । नेपालमा नर्सिङको जागीर खाएर बस्दा पढाइ खर्चसमेत उठ्दैन । किनकि नेपालमा नर्सको भेल्यू छैन । अष्ट्रेलिया नर्सका लागि धेरै राम्रो छ । त्यसैले नर्सहरु प्राय अष्ट्रेलिया आउन खाजेका हुन् जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्