Logo
Logo

नेपालले अफगानिस्तानलाई राहत पठाउँदै



काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहयोग गर्ने भएको छ । तालिबानले सत्ता लिएसँगै त्यहाँ पछिल्लो समय मानवीय संकट निम्तिएको छ । सोहीक्रममा नेपालले अफगानिस्तानलाई सहयोग गर्ने भएको हो । सहयोगका लागि आइतबार त्यसतर्फ टोली प्रस्थान गर्दैछ ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको छ । नेपाली टोली काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट सिर्जना भएकाले राष्ट्रसंघले सघाउन सदस्य मुलुकहरुलाई आग्रह गरेको थियो । महासचिव एन्टोनियो गुट्रेसले मानवीय सहयोगका लागि आह्वान गरेका थिए ।

चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन्। नेपालले पनि अफगान जनतालाई केही राहत होस् भनेर सहायता पठाउन लागेको हो।

यसैबीच नेपाल उद्योग परिसंघले सार्क सदस्य मुलुक अफगानिस्तानलाई परराष्ट्र मन्त्रालयमार्फत राहत सामाग्री हस्तान्तरण गरेको छ । परिसंघ अध्यक्ष विष्णुकमार अग्रवालले परराष्ट्रमन्त्रीलाई राहत सामाग्री प्रदान गरेका हुन् ।

सहयोग सामाग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी मुलुकमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्