काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या शनिबार देखिएको नयाँ संक्रमितभन्दा ३२५ ले बढी हो । शनिबार देशभरमा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको थियो ।
उपत्यकाका तीन जिल्लामा आज ३ हजार ३४७ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो । १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औषत संक्रमणदर ३६ दशमलव एक प्रतिशत छ । यही अवधिमा ४३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ रहेको छ । हाल सक्रिय संक्रमितको २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा २९ र आइसीयूमा १२२ जना रहेका छन् । होम आइसोलेशनमा २४ हजार ५८४, संस्थागत आइसोलेशनमा एक हजार ९६ र संस्थागत क्वारेन्टिनमा १२१ रहेका छन् ।
सरकारले आजदेखि अग्रपङ्तिमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । देशभरमा हाल लगाइरहेको सबै खोप प्रभावकारी र निःशुल्क रहेको उनले बताए । खोपले गम्भीर स्वास्थ्य समस्याबाट बचाउने भन्दै उनले खोप लगाउनुपर्नेमा जोड र्दिए । उनले भने, ‘खोप लगाउने ठाउँमा स्वास्थ्यका मापदण्डको भने पालना गर्नुपर्छ ।’
सरकार खोप कार्यक्रम विस्तारमा लागेको सहप्रवक्ता डा अधिकारीले बताए । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यानुसार लगाइसकिएको उनले बताए । उनले भने– ‘पुस मसान्तसम्ममा दुई तिहाइलाई लगाउने लक्ष्य लिइएकामा ६१ प्रतिशतलाई लगाइएको छ ।’












