
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको मुख्य कारण बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
चौबीसौँ भूकम्प सुरक्षा दिवस २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘विसं २०७२ को भूकम्पमा देखेका र भोगेका कुरालाई मनन गरेर आउँदा दिनमा यसबाट जोगिने योजना तयार गर्नुपर्नेछ ।’ भूकम्प तथा आगलागी तथा बाढीपहिरोजस्ता प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच सहकार्य अति नै जरुरी रहेको उनको भनाइ छ । सो जोखिमबाट मुलुकवासीको रक्षा गर्न दक्ष जनशक्ति परिचालन गर्न सबै स्थानीय तहले तयारी अवस्थामा रहिरहनुपर्ने प्रधानमन्त्री देउवाले आग्रह गरे ।












