Logo
Logo

तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग



काडमाडौं । स्थानीय सरकारका प्रमुखहरूको संस्थाहरुले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका हुन् ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले समयमै निर्वाचन नभए पालिका प्रमुख,अध्यक्ष, उपप्रमुख,उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिसलगायतका कार्यहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने बताएका छन् ।

संविधानले नै जनप्रतिनिधिविनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको समेत व्यवस्था नगरेकाले भन्दै समयमै निर्वाचन गर्नुको विकल्प नरहेको उनीहरको भनाइ छ ।

यसअघि नै निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्ने गरी सुझाव दिएको छ । तर, सरकारले निर्वाचनको मिति तोकेको छैन् । यही बेला तीन वटै संस्थाले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘संविधान र विद्यमान कानूनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रुपमा गरिसक्नु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्