Logo
Logo

मन्त्री झाँक्रीद्वारा एकसय दिनको काम र आगामी योजना सार्वजनिक



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेकी छन् । आज (सोमबार) मन्त्री झाँक्रीले पत्रकार सम्मेलन गरी आफ्ना उपलब्धी र आगामी कार्ययोजना सार्वजनिक गरेकी हुन् ।

उनले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचेअनुसार काम गर्न नसकिएको बताइन् । सहरी क्षेत्रमा बसोबास गर्ने आमजनमासको अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनले बताइन् ।

उनले भनिन्, ‘हामीले नीतिगत सुधारका कुराहरु विद्यमान शहरी नीतिलाई अनुकुल बनाउने र प्रदेश र स्थानीय तहसँग संवादको प्रक्रिया अघि बढाएका छौं, शहरी पूर्वाधारमा ऋण अनुदान लगानीका विषयमा शहरी विकास विधेयक अनुमति दिइएको छ।’

उनले धेरै जनअपेक्षा अर्मूत हुने भन्दै मूर्तरुप दिनका लागि चुस्तदुरुस्त हिसाबले मन्त्रालयले काम गरिरहेको बताइन् ‘बागमती नदीको बहाव सफा गर्ने काम पनि गर्दैछौं । सार्वजनिक जमिनको दोहन गरिएको ठाउँलाई क्लियर गर्न निर्ममता पूर्वक अघि बढ्छौं, शहरी प्रदुषण र फोहोर मैलाको कुरा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ल्यान्डफिल्ड साइट निर्माण लगायतको कामलाई अघि बढाइएको छ,’ उनले भनिन् ।

जनता आवास कार्यक्रममा आफू प्रतिवद्ध गरेको भन्दै झाँक्रीले काठमाडौंका घना बस्तीमा खुला क्षेत्र निर्माण गर्ने तयारी भइरहेको उनले बताइन् । काठमाडौं फोहोर मैला व्यवस्थापन गर्ने तयारी स्वारुप अनुसन्धान केन्द्रको स्थापना हुने मन्त्री झाँक्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्