Logo
Logo

राष्ट्रियसभा निर्वाचन लगत्तै एसपी र डिएसपीको सरुवा हुने




काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन लगत्तै प्रहरीमा व्यापक हेरफेर गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । विभिन्न जिल्लामा एसपी र डिएसपी हेरफेर गर्न लागिएको हो ।


दुई साताअघि विभिन्न जिल्लाका एसपीको सरुवा भएपनि थप जिल्लामा सरुवा गर्न लागिएको छ । चितवन, महोत्तरी लगायत जिल्लाका एसपीको एक वर्षको कार्यकाल पुगिसकेको छ । चितवनका एसपी ओम अधिकारीको एक वर्ष पुगेको हो । चितवन सरुवा हुन एक दर्जन एसपी लागेका छन् । जसमा नवराज अधिकारी, कृष्ण पंगेनी, अजय केसी लगायत छन् । चितवन पूर्व प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला भएको र अब जाने एसपी चुनाव गर्ने भएकाले प्रचण्डकै सहमतिमा मात्र चितवनमा एसपी सरुवा गर्ने गृह मन्त्रालयको तयारी छ । एसपी नवराज अधिकारीले आफुले प्रचण्डसँग कुरा मिलाइसकेकाले आफ्नो सरुवा हुने भन्दै हिडेका छन् । बिना मगरसँगको निकटताको आधारमा उनले चितवन सरुवा हुन लबिइङ गरेका हुन् ।


त्यस्तै, रुपन्देहीका एसपी मनोज केसीलाई पनि अवधि नपुगी हटाउने सम्भावना देखिएको छ । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला भएकाले कांग्रेसको यसम्यान एसपी लैजान लागिएको छ । आफु अनुकुलको एसपी लगेर जिल्लामा तस्करीको लाइन खोल्ने तथा अन्य अवैध गतिविधिमा सेटिङ मिलाउने गिरोह सक्रिय छ ।


त्यस्तै, एक दर्जन पहाडी जिल्लाका डिएसपी पनि फेरिने भएका छन् । रसुवा, दोलखा, रामेछाप लगायत जिल्लाका डिएसपी फेरिदै छन् । अब जिल्लामा जाने एसपी र डिएसपीले चुनाव गराउने भएकाले सत्तारुढ दलका नेताका निकटस्थले मात्र जिल्लामा अवसर पाउने अवस्था देखिएको छ । जसकारण आगामी चुनावमा प्रहरी शक्तिको दुरुपयोग हुने जोखिम छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवामा अडान लिन नसक्दा यस्तो अवस्था आएको हो ।

प्रतिक्रिया दिनुहोस्