Logo
Logo
साहित्य

लर्ड हुने पालो यो



के वैध ? के अवैध ?
अब परिभाषा नै छैन
के गर्न हुने ? के गर्न नहुने ?
आधार नै छैन
सब एकनास !
सब बराबर !!

चुरेलाई बराबर नपारी
काठमाडौँ भत्किँदैन
काठमाडौँ नभत्काइकन
पहाड टुक्रिँदैन

बनमाराले जंगल खायो
राजनीतिले मुलुक
सबलाई लडाउनेले
सबैको आहारा लुँडायो

मुलुक रहोस् या नरहोस्
आफू रहनु पर्याे
अरू रहुन् या नरहुन्
ऐश्वर्य बढ्नु पर्याे

धर्मले ऐश्वर्य बढाउँदा
होली वाइन किन नखाने ?
युद्धले ऐश्वर्य बढाउँछ भने
एलाइन्स गर्न किन नहुने
असंलग्नताले के दियो ?
फगत कहालीलाग्दो गरिबी
संलग्नताले कुत दिन्छ भने
त्यो छोड्नु के बुद्धिमानी ?

युद्ध हुन्छ भने होस्
कुत बढ्नु पर्यो
सिरिया होस् या अफगानिस्तान
राम्रो वाली भित्रिनु पर्याे

दिनहुँको गोला बारुतमा
मान्छे मरिरहेका छन्
बाचेका कङ्गाल
लर्डहरू अपार धनी छन्
मरेकाको मेमोरियलमा भाषण ठोक्ने हो
कङ्गाल हुँदै गएकालाई सपना देखाउने हो

अब लर्ड हुने पालो हो यो

प्रतिक्रिया दिनुहोस्