Logo
Logo

मानव तस्करी गरेर मस्ती गर्ने मोडलको जेल यात्रा



काठमाडौं । अमेरिका लैजाने भन्दै विभिन्न देश पुर्याएर अलपत्र पार्ने र त्यो पैसाले मोजमस्ती गर्ने मोडल सुधा देवकोटाकाे जेल यात्रा सुरु भएको छ । कुनै समय मोडलसमेत रहेकी देवकोटाले दुई युवकलाई अमेरिका पठाउने भन्दै अन्य देश पठाएर बन्धक बनाएको प्रहरीले जनाएको छ ।

श्रीमान मुक्ति नारायण केसीसँग मिलेर उनले ट्राभल एजेन्सीको आवरणमा उनले मानव तस्करी गरेकी हुन् । देवकोटा केही वर्षअघि म्यूजिक भिडियोमा अभिनय गरेको र हाल आफ्नै नाममा युट्युव च्यानल चलाउँदे आएकी थिइन् । उनले मानव तस्करीको पैसा विदेश घुमघाम र मोजमस्तीमा सक्दै आएको खुलेको छ । अदालतको आदेशमा उनी केन्द्रीय कारागार चलान भएकी छिन् ।

एक पीडितलाई उनले २५ जनवरी २०१९ मा इन्डोनेसियाको जाकार्ता हुँदै बोलिभियामार्फत अमेरिका लैजाने आश्वासन दिई इन्डोनेसिया लगेका थिए । तर, एयरपोर्टमा सेटिङ नमिलेको भन्दै नेपाल फकाई इथियोपियाबाट मेक्सिको हुँदै अमेरिका लैजाने बताएका थिए । इथियोपियामा तीन महिनासम्म बन्धक बनाइएको थियो । पछि उनी आफन्तको सहयोगमा नेपाल फर्किए । ती पीडितसँग उनीहरुले ११ लाख १० हजार रुपैयाँ लिएका थिए ।

त्यस्तै, अर्का पीडितलाई दिल्ली हुँदै लैजाने भनेर त्यहाँ पु¥याई दुई महिनासम्म राखिएको थियो । पछि नेपाल फकाई १९ फ्रेब्रुअरी २०१९ मा इन्डोनेसिया पु¥याइएको थियो । त्यहाँ सात महिनासम्म बन्धक बनाई शारिरिक तथा मानसिक यातना दिइएको थियो । भिसा अवधि सकिएपछि उनी त्यहाँ १४ दिन जेल समेत बसेका थिए । जेलबाट छुटेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल निष्काशन गरेको थियो ।

ती पीडितसँग पनि केसी र देवकोटाले १५ लाख रुपैयाँ लिएका थिए । देवकोटाविरुद्ध दाङ जिल्लामा पनि ठगी मुद्दाको उजुरी रहेको एसएसपी चन्दले बताइन् । मुक्तिनारायण भने हालसम्म फरार छन् । यसरी ठगी गरेको पैसाले उनीहरु विभिन्न देश घुमेको अनुसन्धानमा खुलेको छ । हाल श्रीमानसँग आफ्नो सम्पर्क नरहेको उनले दाबी गरेकी छिन् । उनको श्रीमानको पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्