Logo
Logo

राष्ट्रियसभा निर्वाचन : आज मध्यरातदेखि मौन अवधि



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातदेखि लागू हुँदै छ । राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ १२ गते हुँदैछ ।

मौन अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न पाइँदैन । त्यस्तै मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका आ–आफ्नो निर्वाचन चिह्न ताथ प्रचार सामग्री हटाउनु पर्नेछ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ । साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।

प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन पदका लागि निर्वाचन हुने छ ।

सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्