Logo
Logo

वडा अध्यक्षलाई दुर्व्यवहार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता



बझाङ । वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा चार जनाको नाममा मुद्दा दर्ता भएको छ ।

आइतबार बझाङको वित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो लगाएर दुर्व्यवहार गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालयमा उनीहरूबिरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।

दुर्व्यवहार गर्नेहरूले प्रयोग गरेको जीपका चालक जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका २३ वर्षीया विनोद बमलाई पक्राउ गरी आफन्तको जिम्मा लगाइएको छ ।

त्यस्तै, दुर्व्यवहारमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका जयपृथ्वी नगरपालिका ९ देवलका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दर्ता गरेको छ ।

आफू धरान बजारमा स्थानीयहरूसँग कुरा गरिरहेको अवस्थामा वडा सचिव र अध्यक्ष को हो भनेर सोधेपछि हामी हौ भन्दा काम छ यता आउनुहोस् भनेर लिएको र पछि कालोमोसो दलेको वडा अध्यक्ष मल्लले बताए ।

वडाध्यक्ष मल्लले पत्रकारहरूसँग कुरा गर्दै भने– ‘हामीले कतै रकम हिनामिना गरेको प्रमाण उहाँहरूले ल्याउनु भयोभने हामी कारबाही भोग्न तयार छौ । नत्र हामीलाई बिना कारण आरोप लगाएर दुर्व्यवहार गर्नेलाई हदै सम्मको कारबाही होस् । गाउँले भएर हाम्रो ज्यान जोगियो । हाम्रो जिउ धनकै सुरक्षा छैन ।’

आफूहरूलाई अब वडा कार्यालयमा गएर सेवा दिन पनि डर लागेको र असुरक्षित महसुस भएको समेत वडाध्यक्ष मल्ले बताए । वडा सचिव अवस्थीले भने– ‘पुस २४ गते आफ्नो पार्टीलाई १ लाख ५० हजार रुपैयाँ चन्दा दिनुपर्यो भनेर फोन गरेका थिए । पुस २५ गते कार्यालयमा आएर वडाको सबै हिसाब किताब देखाऊ भनेर भिडियो बनाउँदै हामीलाई थर्काएका थिए । हामीले सबै कागजात अहिले देखाउन सकिदैन् । कुन–कुन कागजात हेर्नु हुन्छ । निवेदन ल्याएर आउनुहोस् अनि देखाउला भनेका थियौं । त्यसपछि कार्यालयमा कोही आएका थिएनन् ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले अनुसन्धानमा खलल पुग्ने भएकाले दिन नमिल्ने र उनीहरू विरुद अभद्र दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।

साथै विज्ञप्ति जारी गर्दै वित्थडचिर गाउँपालिका, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति बझाङ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले राजनीतिक आस्थाको भरमा दुर्व्यवहार गरेकाले संलग्न सबैको कारबाहीको माग गरेको छ ।

मंगलबार वडाध्यक्ष मल्ल र सचिवले सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दुर्व्यवहार गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउनका लागि पहल गरिदिन तथा घटनाबारे सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्