जनकपुरधाम । मधेस प्रदेशका सांसद अशोक यादवले प्रदर्शनकारीले आफ्नो हात भाँचिदिएको बताए । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेतासमेत रहेका यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित मधेस प्रदेशका सांसद हुन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि जनकपुरधाममा मतदान गर्न जाने क्रममा लाठीसहित प्रदर्शन गरिरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यक्रमले सांघातिक आक्रमण गर्दै आफ्नो दाहिने हात भाँचिदिएको उनले बताए ।

‘जानकी मन्दिर अगाडी पुग्ने क्रममा १५–२० जनाको समुहमा लाठिफाटा लिएर आएकाले सांघातिक आक्रमण गरे । ज्यानै लिने उदेश्यले उनीहरुले आक्रमण गरेका थिए । भागेर मैले आफ्नो ज्यान जोगाए’ यादवले भने, ‘मेरो दाहिने हात भाचिएको छ । ती आक्रमणकारीलाई सरकारले कारवाही गर्नुपर्छ ।’
जायज माग राखेर प्रदर्शन गर्न सकिन्छ तर कसैमाथि ज्यानै लिने उदेश्यले आक्रमण गर्नु जायज नभएको बताउँदै उनले जनमत पार्टीका अध्यक्ष सिके राउत र ती आक्रमणकारीलाई कारबाही गर्नुपर्ने उनले माग गरेका छन् ।
यसैगरी सर्लाही जिल्ला हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईको गाडी आन्दोलनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीले आफूलाई कुटपिटसमेत गरेको प्रसाईले जनाएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले १५ भन्दा बढी आश्रुग्यास प्रहार गरेको छ ।











