Logo
Logo

फुटबल खेलाडी हरि खड्कालाई भ्रष्टाचार मुद्दा




काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरीको बढुवामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


खड्का नेपाल प्रहरीका पूर्व सइ हुन् । असईमा भर्ना हुन उनले इन्टरमिडियट तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको हो । छानबिन सुरु भएपछि उनले प्रहरीबाट राजीनामा दिएका थिए ।

उनले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आइ.ए.को) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर वहाल रही मिति २०५९।०९।१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत राखी गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को  दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको प्रमाण पुष्टि हुन आएको हुँदा नेपाल प्रहरीका पूर्व प्र.ना.नि. हरि खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्