Logo
Logo

नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरणका नौ अभियुक्त जेल चलान




काठमाडौं । चार साताअघि नयाँ बसपार्कमा एक महिलामाथि नौ जनाबाट भएको सामुहिक बलात्कार घटनामा संलग्न नौ जना अभियुक्त जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।


त्यस्तै मतियारका रुपमा पक्राउ परेका होटल सञ्चालकहरु जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणचार्य पौडेललाई ३–३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । यस्ता अपराधमा होटल सञ्चालकलाई समेत उत्तरदायी बनाउन सरकारी वकिल कार्यालयकै परामर्शलाई उनीहरुलाई पक्राउ गरी मतियारका रुपमा मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । ‘होटलमा आउनेको रेकर्ड राम्रोसँग राखिएको देखिएन’ एसएसपी गिरीले भने,‘त्यत्रो घटना हुँदा पनि प्रहरीलाई कुनै जानकारी समेत गराइउन, होटल सञ्चालकको काम ग्राहकसँग पैसा उठाउने मात्र होइन नि, होटलभित्र के भइरहेको छ भनेर जानकारी पनि राख्नुप¥यो, त्यही भएर सञ्चालकलाई पनि मतियार बनाएका हौं ।’
महिलामाथि तीन वटा होटलमा सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पहिलो होटलमा ६ जनाबाट, दोस्रोमा दुई र तेस्रोमा एक जनाबाट बलात्कार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।


गत १२ र १३ पुसमा नयाँ बसपार्कमा सुखर्तेबाट काठमाडौं आएकी एक महिलालाई १६ घन्टासम्म नियन्त्रणमा राखेर नौ जनाले सामूहिक बलात्कार गरेका थिए । प्रहरीले सिसिक्यामेराको सहयोगमा घटनाको २४ घन्टा भित्रै आरोपीलाई पक्राउ गरेको थियो । अनुसन्धान पूरा गरी नौ जना मुख्य आरोपी र तीन जना मतियार गरेर १२ जनाविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।


पीडित महिला घटनाकै दिन सुर्खेतबाट काठमाडौं आएकी थिइन । सहयोग गर्ने आश्वासमा आफुलाई होटलमा लगेर बलात्कार गरिएको पीडितको भनाई छ । प्रहरीले मुगुको छायाँनाथ नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद तथा अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा गोपालकुमार शिरीषविरुद्ध मुद्दा दायर भएको थियो ।उनीहरुमध्ये सबैजसो बैदेशिक रोजगारको प्रक्रियाका लागि नयाँ बसपार्कका गेष्ट हाउसमा बसेका थिए । सबै जना कारागार चलान भएका छन् ।


गत १३ पुसमा पीडित महिला आफुमाथि ९–१० जनाले सामूहिक बलात्कार गरेको भन्दै उजुरी लिएर नयाँ बसपार्कस्थित प्रहरी प्रभागमा पुगेपछि प्रहरीले घटनाको जानकारी पाएको थियो । तत्कालै प्रहरीले सिसिक्यामेराको सहयोगमा अनुसन्धान गर्दा महिलालाई युवकहरुले लिएर गएको होटल पहिचान गरी पक्राउ गरेको थियो । पक्राउको तीन हप्तापछि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरुलाई १५ वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुरअनुसार १८ वर्ष भन्दा बढी उमेरको महिलामाथि बलात्कारमा १० वर्षसम्म कैद तथा सामूहिक बलात्कारमा थप पाँच वर्ष सजाय हुने कानूनी प्रावधान छ । उनीहरुलाई अधिकतम सजाय माग गरी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्