काठमाडौं । भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेकाको अध्ययन गर्न समिति गठन गरेको हो ।

गृहमन्त्रालयले विज्ञप्ति जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबई लगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण गरी भिजिट भिसा र सोबाट सृजित समस्याको विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको छ ।’
समितिलाई भिसा उपलब्ध गराउन मापदण्ड बनाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवगमन सहजीकरण, अध्यागमन प्रणाली सुधार अन्तर्राष्ट्रिय उडान तालिका सुधार, ट्रान्जिटमा यात्रुहरूको व्यवस्थापन गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड समेतका प्रतिनिधि छन् ।











