Logo
Logo

सूर्यमा ग्रहण लाग्दैछ, कलम चम्किँदैछ : अध्यक्ष नेपाल


5.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको बताएका छन् । हालै सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जितेको बताउँदै अध्यक्ष नेपालले एमालेप्रति यस्तो टिप्पणी गरेका हुन् ।

फाइल फोटो

शनिबार काठमाडौंमा एकीकृत समाजवादी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दावी गरे ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि आफूहरु सामना गर्न तयार रहेको पनि बताए । आफूहरु चुनावबाट भाग्न खोजेको नभइ जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको उनको भनाइ छ । तर उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए ।

एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने, ‘हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।’

उनले आफूहरुको मुख्य चुनौती एमाले नामको ‘केपी गुट’ भएको बताए । राष्ट्रियसभाको निर्वाचनमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाउँदै उनले भने, ‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो, आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ ।’

कम्युनिस्ट पार्टीभित्र आएको असहज परिस्थितिले कर्मचारी संगठन पनि प्रभावित भएको बताए । अध्यक्ष नेपालले कर्मचारीलाई कुनै पनि धम्कीसँग नडराइ संगठनलाई अघि बढाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्