काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु भइरहेको भन्दै सत्ता गठबन्धनलाई गम्भीर हुन आग्रह गरेका छन् ।

शनिबार बालुवाटारमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले विकसित अवस्थाप्रति गम्भीर नहुने र निकास नखोज्ने हो भने सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताए ।
नेता पौडेलले भने, ‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन । कानून संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ ।’ पौडेलले सरकार अहिले संसदमा केही गर्न नसक्ने अवस्थामा रहेको समेत बताए ।
आज बिहान बसेको गठबन्ध्न बैठक निष्र्कषविहीन टुंगिएको थियो । बैशाखमा स्थानीय तहको निर्वाचन गर्नेबारे गठबन्धनका नेताहरु सकरात्मक रहेको बताइएको छ । बैठक आज पुनः ४ बजे बस्दैछ ।














