काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ । स्थानीय तहको निर्वाचन नसार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएपछि बैठकमा राष्ट्रपति भण्डारीको आलोचना भएको हो ।

आगामी निर्वाचनको बारेमा छलफल गर्नका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । राष्ट्रपति भण्डारीले लिखित रुपमै प्रधानमन्त्री देउवालाई स्थानीय तहको निर्वाचन नसार्न दबाब दिएको बिषयमा समेत कुरा उठेको बैठकमा सहभागि एक नेताले बताए ।
गत बिहीवार प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेटन शितल निवास पुगेका थिए । भेटघाटको क्रममा लिखित रुपमा आफ्नो धारणा राखेकी राष्ट्रपति भण्डारीले त्यही पत्र प्रधानमन्त्रीलाई थमाएकी थिईन् ।
राष्ट्रपतिको पत्रमा स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सरकारको तयारीलाई चिन्ताजनक भन्दै समयमै निर्वाचन गराउने दायित्व सरकारले पुरा गर्नुपर्ने बताएकी छन् ।
सोही पत्रको बारेमा पाँच दलीय गठबन्धनको बैठकमा छलफल गर्दै नेताहरुले प्रधानमन्त्रीलाई राष्ट्रपतिले पत्र दिनु असंवैधानिक भएको टिप्पणी गरेका छन् । ‘संवैधानिक अधिकार भन्दा बाहिर गएर राजनीतिक महत्वाकांक्षाका कारण राष्ट्रपतिले असंवैधानिक कदम चाल्नु भएको छ’ बैठकमा सहभागि एक नेताले भने ।














