
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनै मितिमा भए पनि निर्वाचन सामना गर्न तयार रहेको बताएका छन् । कुनै पनि निर्वाचनबाट आफूहरु नआतिएको समेत उनले बताएका छन् ।
शनिबार काठमाडौंमा एकीकृत समाजवादी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जतिबेला जुन तहको निर्वाचन भए पनि आफूहरु सामना गर्न रहेको बताएका हुन् ।
‘निर्वाचनसँग हामी आतिएका छैनौं । निर्वाचन यदि, वैशाखमै हुन्छ भने हामी सामना गर्न तयार छौं । निर्वाचन यदि, जेठमा हुन्छ भने हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने पनि सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने पनि सामना गर्न तयार छौं’ अध्यक्ष नेपालले भने, ‘स्थानीय तहको निर्वाचन पहिले हुने हो वा केन्द्रीय निर्वाचन पहिले भए पनि हामी सामना गर्न तयार छौं ।’
जनताका बीचमा जाने कुरालाई आफूहरुले सहज र स्वभाविक रुपमा लिएको उनले बताए । निर्वाचनबाट अरु कोही आतिएको हुन सक्ने बताउँदै उनले गठबन्धनलाई फुटाउँने प्रयास भईरहेको आरोप लगाए ।
एमालेले पाँच दलीय गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने– ‘निर्वाचनको कुरा गरेपछि गठबन्धन दल भित्र कुरा मिल्दैन्, नमिलेपछि गठबन्धन टुट्छ र टुटिसकेपछि त्यसको फाईदा उठाउला भन्ने मौकाको ताकमा कोही होलान ।’
शनिबार नै बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेसका सबै नेताले अहिलेको गठबन्धनलाई अगामी निर्वाचनसम्म लैजाने प्रतिवद्धता व्यक्त गरेको समेत अध्यक्ष नेपालले बताए । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको निर्णयअनुसार नै आफू अगाडि बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको नेपालले बताए ।
पाँच दलीय गठबन्धन फुटाउँनका लागि देशी विदेशी शक्तिहरु लागेको हुन सक्ने बताउँदै अध्यक्ष नेपालले गठबन्धलाई फुटाउनका लागि केपी ओली सबैभन्दा बढी सक्रिय भएको आरोप लगाएका छन् । अनेक प्रकारको भ्रम, दाउपेच चालेर गठबन्धन फुटाउँने ओलीको प्रयास असफल भएको उनको भनाए रहेको छ ।
केपी ओली देशको परिवर्तन विरोधी शक्तिको चाकरीमा लागेको आरोप लगाउँदै नेपालले भने– ‘देश र जनताको कुरालाई केन्द्रमा नराखी उनी (ओली) आफ्नै स्वार्थमा लागेका छन् । सानो गुटको स्वार्थमा लागेका छन् । विदेशीहरुका चाप्लुसी र चाकरी गर्दै हिडेको र क्रान्तिकारी बाटो छोडेर दक्षिणपन्थीको बाटो अनि दलाल पुँजीको संरक्षण गर्ने भएकाले कम्युनिष्ट आन्दोलनको रक्षा हुने कुरा पनि भएन् । नेपालमा समाजवादको स्थापना हुने कुरामा समेत कुनै योगदान हुने कुरा भएन् ।’
उनले आफूहरुको मुख्य चुनौती एमाले नामको ‘केपी गुट’ भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको निर्वाचनमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाउँदै उनले भने, ‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो, आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ ।’
अध्यक्ष नेपालले एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको बताए । हालै सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जितेको बताउँदै अध्यक्ष नेपालले एमालेप्रति यस्तो टिप्पणी गरेका हुन् ।
आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दावी उनको छ । पछिल्लो समय एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको बताउँदै देशैभरीबाट विभिन्न पार्टी परित्याग गरी नेताहरु समाजवादीमा प्रवेश गरिरहेको उनले बताए ।














