Logo
Logo

सशस्त्रमा एआइजीको दरबन्दी थप होला ?




काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी)को एक दरबन्दी थप्ने तयारी गरेको छ । कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर नयाँ विभाग गठन गरी एआइजी दरबन्दी थप्ने चलखेल अघि बढेको हो ।


दरबन्दी थप्ने प्रस्तावमा अर्थ मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालय स्रोत बताउँछ । सशस्त्र प्रहरीमा हाल एआइजीको दुई दरबन्दी छ । एआइजीको दरबन्दी थप्न पटक–पटक प्रयास हुँदै आएको छ । संगठनभन्दा पनि व्यक्तिलाई केन्द्रित गरी अहिले दरबन्दी थप्ने प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ ।


सशस्त्रका दुई डिआइजी खड्ग राई र मन्दीप श्रेष्ठले पदावधिका कारण यही महिना अवकाश पाउँदै छन् । एआइजीमा बढुवा भए जागिर लम्बिने भएकाले व्यक्तिकै लागि दरबन्दी थप्न लागिएको स्रोत बताउँछ । यद्यपी दुवै डिआइजीको जागिर अवधि १० दिन मात्र बाँकी छ । यो अवधिभित्रै निर्णय नभएमा उनीहरुले अवकाश पाउने भएकाले आगामी बैशाखमा आइजिपीको दाबेदार ब्याचबाटै एआइजी बढुवा हुने सम्भावना समेत देखिएको छ । जसमा डिआइजीहरु राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम छन्।


गृह मन्त्रालयले नेपाल प्रहरीमा पनि एआइजीको दरबन्दी थप्ने प्रक्रिया अघि बढाइसकेको छ । प्रहरी प्रधान कार्यालयले एआइजीको तीन दरबन्दी थप्ने प्रस्ताव अघि बढाएको हो । तर, संख्या अझै बढाउन बढुवाका आकांक्षी डिआइजीहरूले लबिङ गरिरहेका छन् ।


सुरक्षा निकायमा हचुवाका भरमा पटक–पटक उच्च पदको संख्या थपघट हुँदै आएको छ । केपी ओली सरकारले एआइजीको दरबन्दी घटाएर नेपाल प्रहरीमा तीन तथा सशस्त्र प्रहरीमा दुई मात्र राख्ने निर्णय गरेको थियो ।
तर, ओली सरकारले नै दुईवटा व्यक्तिलाई लक्षित गरी एआइजीको दुई दरबन्दी थप्ने निर्णय गरेको थियो । अहिलेको सरकारले पनि आफूनिकटहरूलाई बढुवा गर्न दरबन्दी थप्न लागेको हो । यसमा आर्थिक चलखेलको समेत आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्