Logo
Logo

नेकपामा जुटेन सहमति,दोहोरो जिम्मेवारीबारे विवाद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउन बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ। संघीय, प्रदेश र स्थानीय सरकारमा जिम्मेवारी पाइसकेका नेतालाई पार्टीको जिम्मेवारी दिने कि नदिने भन्ने विषयमा भएको छलफल बिनानिष्कर्ष सकिएको हो। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको थियो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको कार्यव्यस्तताका कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो। स्रोतका अनुसार प्रचण्डले मध्यमार्गी बाटो अपनाउन सुझाव दिएका थिए ।
‘यसअघि नै तय भएका कार्यक्रममा जानुपर्ने भएकाले आज बैठक पुरै बस्न सकेन, फेरि भोलि बिहान ९ बजे बस्ने गरी सकिएको छ’ श्रेष्ठले बैठकपछि भने।

जेठ १८ र २० गते तय भएका बैठक स्थगित गरी पुनः २१ देखि सुरु भएको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्जलगायत अन्य सांगठनिक संरचना जिम्मेवारी टुंगो लगाउने एजेन्डा थियो। तर दुई दिनसम्म बस्दा पनि टुंगो लगाउन नसकी बुधबारको बैठक पनि स्थगित भएको छ।

अध्यक्षद्वय ओली र दाहालले ७७ जिल्ला इन्चार्ज र सह–इन्चार्जको प्रस्ताव गरे पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले नेताहरूलाई दोहोरो जिम्मेवारी दिन नहुने भन्ने तर्क राख्दै आएका छन्। ‘छलफल गम्भीरतापूर्वक भएका छन्, सम्भवतः भोलिसम्म टुंग्याउँछौं,’ श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस्