Logo
Logo

मोष्ट वान्टेड अभियुक्त प्रहरीकै हातबाट भागे, छानबिन भएन




काठमाडौं । मानव बेचबिखन जस्तो गम्भीर अपराधमा संलग्न एक अभियुक्त प्रहरी कब्जाबाट सहजै भागेका छन् । तर, यती गम्भीर लापरबाहीमा प्रहरीले छानबिन समेत गरेको छैन । जसले यसमा प्रहरीकै मिलेमतोको आशंका गरिएको छ ।


मानव बेचबिखन ब्यूरोमा परेको जाहेरीका आधारमा जसबहादुर श्रीष मगर र उनकी श्रीमती पार्वती मगरलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई पत्राचार गरेको थियो । जिप्रका म्याग्दीले उनीहरुलाई पक्राउ गर्न दुई जना प्रहरी मोटरसाइकलमा पठायो । तर, मुख्य अभियुक्त जसबहादुर पक्राउ परेपछि हाम फालेर सहजै भागेका थिए ।


पक्राउ गरेर कार्यालयतर्फ लैजाने क्रममा उनी भागेका हुन् । भोलिपल्टै उनी दिल्ली पुगेको सूचना प्रहरीले पाएको छ । मिलेमतोमा भगाइएको आशंकामा प्रहरीमाथि छानबिन थालिएको छ । ‘२० वर्ष कैद सजाय हुने अपराधका अभियुक्तलाई पक्राउ गर्दा प्रहरीले जून सतर्कता अपनाउनुपथ्र्याे त्यो देखिएन,’ ब्यूरोका एक अधिकारी भन्छन्,‘यसमा प्रहरी गम्भीर लापरबाही देखिन्छ ।’ अभियुक्तलाई पक्राउ गर्न म्याग्दीका डिएसपी श्याम कुमार राईले दुई जना मात्र प्रहरी पठाएका थिए । जसकारण यसमा जिल्ला प्रहरी नेतृत्वकै कमजोरी देखिएको छ ।


डिएसपी राई भने यसमा प्रहरीको कुनै कमजोरी नभएको बताउँछन् । ‘सामान्य केसको मान्छे होला भनेर दुई जना मात्र प्रहरी पठाएका थियौं,’ उनले भने,‘पछि भागेपछि पो ठूलो केसको मान्छे रहेछ भन्ने थाहा भयो ।’ उनी पक्राउ परेको खबर पाएपछि लिनलाई गएको ब्यूरोको टोली बाटोबाटै फर्किएको थियो । म्याग्दी प्रहरीले पार्वती र उनकी छोरीलाई अभद्र व्यवहारसम्बन्धि मुद्दा चलाई उनीहरुलाई ब्यूरोमा पठाएको छ ।


डिएसपी राईको पृष्ठभुमी राम्रो छैन । बौद्ध वृत्तमा हुँदा उनी घुससहित पक्राउ परेका थिए । सफाई पाएपछि उनलाई म्याग्दी पठाइएको थियो । यस्तो गम्भीर घटनामा प्रहरीभित्र आन्तरिक छानबिन नहुनुले पनि प्रहरीमाथि थप आशंका बढेको छ ।


जसबहादुर र पार्वतीले १६ वर्षअघि म्याग्दीकै एक महिलालाई भारतको कोठीमा बिक्रि गरेको प्रहरीले जनाएको छ । त्यसमा संलग्न पीडित महिलाका श्रीमान लक्ष्मण क्षेत्री र पार्वतीलाई भने प्रहरीले पक्राउ गरेको छ ।

पीडितले प्रहरीमा दिएको जाहेरीअनुसार उनका श्रीमान लक्ष्मण पहिलेदेखि नै नयाँदिल्ली बस्दै आएका थिए । उनी गाउँमै बस्दै आएकी थिइन् । उनलाई नयाँदिल्ली बोलाउँदै श्रीमानको नाममा चिठ्ठी र पैसा पठाइएको थियो । तर, उनलाई विश्वास लागेन । उनी गाउँबाट बेनीबजार पुगेर श्रीमानलाई फोन गरिन् । श्रीमानले आफैंले बोलाएको बताएपछि खुशी हुँदै उनी दिल्ली गएकी थिइन् । खुशी हुँदै दिल्ली पुगेकी केही दिनमै उनको जीवनको नरकिया यात्रा सुरु भयो । श्रीमानले उनलाई जसबहादुर श्रीष मगर र उनकी श्रीमती पार्वती मगरलाई बुझाए । उनीहरुले पीडितलाई कोठीमा बन्धक बनाएका यौनधन्दामा लगाएका थिए । केही वर्षपछि आफुलाई अलिगडस्थित एक व्यक्तिको घरमा लगेर यौनशोषण गरिएको उनको उजुरीमा उल्लेख छ । अलिगडमा उनले तीन सन्तान जन्माइन् । पछि फेरि उनलाई दिल्लीमै लगेर बेचिएको थियो । एक ग्राहकको सहयोगमा फेसबुकमार्फत नेपालका रहेका भाइसँग सम्पर्क गरी उनको उद्धार भएको हो ।


नेपाल आएपछि उनले गत ९ मंसिरमा ब्यूरोमा जाहेरी दिएकी थिइन् । उनका श्रीमानलाई ४ माघमा तथा पार्वतीलाई ८ माघमा प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय उनका श्रीमान बैदेशिक रोजगारीको क्रममा दुबईमा थिए । दुबईबाट फर्कदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको एसएसपी राईले बताए । पार्वतीलाई भने प्रहरीले म्याग्दीबाट पक्राउ गरी नेपाल ल्याएको हो । पार्वतीका श्रीमान जसबहादुर श्रीस मगर भने पक्राउ गरेर प्रहरी चौकी लैजादै गर्दा भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्