Logo
Logo

प्रहरीमा प्रचण्डका पिएसओको राज


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
विगतमा दरबारमा खटिने सुरक्षाकर्मीहरुको बढुवा र सरुवामा हालीमुहाली हुन्थ्यो । अहिले गणतन्त्रमा नेताका पिएसओका रुपमा काम गर्ने प्रहरीहरु मालामाल भइरहेका छन् ।
दरबारले त प्राय क्षमतावान प्रहरीलाई मात्र रोज्ने गर्दथ्यो, तर अहिले नेताको चाकडी गर्नेहरु पिएसओ बन्ने गरेका छन् । पिएसओ बनेपछि उनीहरुले नै आकर्षक पोष्टिङ समेत पाउने गरेका छन् ।

प्रचण्डका नयाँ पिएसओ नरेशराज सुवेदी

नेकपाका अध्यक्ष प्रचण्डको पिएसओका रुपमा काम गरेका सबै जसो प्रहरीले आकर्षक पोष्टिङ पाएका छन् । लामो समय प्रचण्डसँग काम गरेका दानबहादुर मल्लले दरबारमार्ग वृत्तको इन्चार्ज हुने अवसर पाए । एसपी बढुवामा पर्न पनि उनलाई गाह्रो भएन । अझ एसपीमा बढुवा भएको केही महिनामै चितवन जिल्लाको इन्चार्ज हुने अवसर पाए । आफ्नो गृह जिल्लामा प्रचण्डकै सिफारिसमा उनी इन्चार्ज भएका हुन् ।
त्यसअघि प्रचण्डका पिएसओ रहेका शरद थापा पनि रसुवा जिल्लाको इन्चार्ज हुने अवसर पाएका थिए । त्यस्तै मल्लपछि प्रचण्डसँग बसेका डिएसपी सन्तोषसिंह राठौरलाई गत साता मात्र सोह्रखुट्टे वृत्तको इन्चार्जको जिम्मेवारी दिइएको छ । राठौरको सरुवा भएपछि नरेशराज सुवेदी प्रचण्डको पिएसओ बनेका छन् । अन्य पूर्व प्रधानमन्त्रीको सुरक्षामा इन्सपेक्टर खटिएपनि प्रचण्डको सुरक्षामा भने डिएसपीको कमाण्डमा करिब ६० प्रहरी खटिदै आएका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रचण्डका कुनै पनि सिफारिस नरोक्ने गरकेो स्रोत बताउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ बसेका प्रहरीले समेत यसअघि बढुवामा बाजी मारेका थिए । फिल्डमा दुःख गर्ने भन्दा नेताहरुलाई खुशी बनाउनेहरु प्रहरीमा हावी हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्