Logo
Logo

मुख्यसचिव रेग्मीलाई हटाउने तयारी ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
निजामती प्रशासनको नेतृत्व सबल हुन नसक्दा सरकारले गति लिन नसकेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीलाई हटाउने तयारीमा सरकार पुगेको छ । उनलाई राजदूत पद दिएर हटाउन लागिएको स्रोत बताउँछ ।


नयाँ मुख्यसचिवका लागि उपयुक्त व्यक्ति फेला नपर्दा हटाउने निर्णय लम्बिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयमा कार्यरत सचिव प्रेमकुमार राईलाई सबैभन्दा धेरै विश्वास गर्छन् । तर, उनीभन्दा सिनियर सचिवहरु रहेकाले उनलाई मुख्यसचिव बनाउन गाह्रो छ ।
राईसँगै केदार अधिकारी, दीपेन्द्र शर्मा, अर्जुन कार्की लगायत मुख्यसचिव बन्ने दौडमा लागेका छन् । स्रोतका अनुसार रेग्मीलाई अष्ट्रेलियाको राजदूतको प्रस्ताव गरिएको छ । अष्ट्रेलियामा राजदूत पद खाली छ । आफुलाई हटाउन लागेको थाहा पाएपछि मुख्यसचिव रेग्मीले प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालमार्फत पद जोगाउने प्रयास गरिरहेका छन् । गत वर्ष नै सरकारले उनलाई हटाउने तयारी गरेपनि रिमालकै कारण जोगिएका थिए ।
मुख्यसचिव रेग्मी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त भएका हुन् । त्यसबेला देउवापत्नी आरजु देउवासँग मिलेर उनले अनियमितता गरेको आरोप लागेको थियो ।
मुख्यसचिव नियुक्त नभए सचिव राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गर्ने तयारी छ । नविन घिमिरेपछि प्रमुख आयुक्त हुने गरी उनलाई नियुक्त गर्न लागिएको छ।
त्यस्तै साउनमा अवकाश पाउन लागेका सचिव राजन खनालको पनि अख्तियारमा नियुक्त हुने सम्भावना छ । अख्तियारमा नभए उनी वित्त आयोगमा नियुक्त हुने छन् ।
यता दिल्लीस्थित नेपाली दुतावासमा इकोनोमिक काउन्सिलर पदमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई पठाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्