Logo
Logo

लगनखेलस्थित मछिन्द्र क्याम्पसको जग्गा व्यक्तिको नाममा, नापी प्रमुखसहित ५ जना अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
ललितपुरको लगनखेलस्थित मचिन्द्र क्याम्पसको पाँच आना जग्गा व्यक्तिको नाममा दिलाउने नापी कार्यालयका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साबिक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फायल नक्सा बनाइ गैरकानूनी रुपमा व्यक्तिविशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्यमा नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख (नापी अधिकृत) भरतसिंह ऐर, तत्कालीन सर्भेक्षक केशव नाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेश कुमार के.सी. र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायण दास श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको भन्दै आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । उक्त जग्गाको मूल्य रु. १७,८१,२५०।–(सत्र लाख एकासी हजार दुई सय पचास रुपैयाँ मात्र) बिगो कायम गरी उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ ।


साथै जग्गाधनी मन्जुतारा शाक्यले नापी कार्यालय, ललितपुरका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूसमेतलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्यादउने बदनियतले आफ्नो नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा साँधमा रहेको नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गामध्येको मूल्य रु. १७,८१,२५०।–(सत्र लाख एकासी हजार दुई सय पचास रुपैयाँ मात्र) पर्ने जग्गा गैरकानूनी रुपमा आफ्नो नामको जग्गामा घुसाई जग्गाधनी दर्ता प्रमाण(पूर्जा लिई क्याम्पसको जग्गा मस्यौट गरी भ्रष्टाचारजन्य कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज जग्गाधनी मन्जुतारा शाक्यलाई रु. १७,८१,२५०।–(सत्र लाख एकासी हजार दुई सय पचास रुपैंया मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरको मात्रा अनुसार हदैसम्मको कैद, सजाय र बिगोबमोजिमको जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाण्डौमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्