Logo
Logo

गुन्डा छुटाउन गृह मन्त्रालयको दबाब




काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा केही दिनयता कांग्रेस नेताहरुको ओहोरदोहार बढेको छ । कांग्रेसका सोलुखुम्बु सभापतिदेखि केन्द्रीय नेताहरु समेत त्यहाँ पुगेका छन् ।


हातहतियार मुद्दामा पक्राउ परेका आफ्ना एक कार्यकर्ता छुटाउन कांग्रेस नेताहरुको दौडधुप चलेको हो । सोलुखुम्बुको थुलुङ दुधकोजी गाउँपालिका कांग्रेस वडा नम्बर ७ का सभापति मिलनकुमार राईलाई छुटाउन दौडधुप चलेको हो ।
उनले कपुरधारामा भाडामा लिएको कोठाभित्र प्रहरीले गत ८ कात्तिकमा पेस्तोल, चार वटा गोली र दुई वटा म्यागजिन बरामद गरेको थियो । लामो समयसम्म पनि कोठामा उनी नआएको र भाडा समेत नतिरेको भन्दै घरधनीले वडा कार्यालयमा उजुरी दिएपछि वडाले प्रहरीको रोहवरमा कोठा खोल्दा पेस्तोल बरामद भएको हो । काठमाडौंमा नभेटिएपछि प्रहरीले उनको खोजी गर्दा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई पत्राचार गरेको थियो । सोलुखुम्बुले बिहीबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको छ ।


पक्राउ परेका राईले भने आफ्नो कोठामा अन्य कसैले हतियार राखिदिएको दाबी गरेका छन् । गुन्डागर्दीको क्रममा उनले पेस्तोल राखेको सूचना प्रहरीले पाएको छ ।


त्यस्तै, उनीसँग दुई वटा नागरिकता र पासपोर्ट भएको आशंकामा समेत प्रहरीले छानबिन थालेको छ । सोलुखुम्बुबाट मिलन कुमार राई तथा सुनसरीबाट मिलन राईको नाममा छुट्टाछुट्टै पासपोर्ट लिएका हुन् । त्यससम्बन्धि कागजपत्र उनको कोठाबाटै बरामद भएपछि प्रहरीले त्यसमा छुट्टै छानबिन थालेको हो । प्रहरीले उनका नागरिकता र पासपोर्टका विवरण सोलुखुम्बु र सुनसरी जिल्ला प्रशासनसँग मगाएको छ । तर अनुसन्धान रोक्न प्रहरीमाथि गृह मन्त्रालयबाट समेत दबाब पुगेको स्रोत बताउँछ ।

कांग्रेसको गृहमन्त्री भएकाले कांग्रेसका केही नेताहरुले गृह मन्त्रालयमार्फत चलखेल गरेका हुन् । पक्राउ परेका राई गुन्डागर्दी पृष्ठभुमीका व्यक्ति भएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्