Logo
Logo

जापान रोजगारी : कामदार भर्ना र छनोट पारदर्शी बनाउन जोड



काठमाडौँ, २३ पुस (रासस) : नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएको छ । 



श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गर्नुभएको शिष्टाचार भेटमा उहाँले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताउनुभयो । 

नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत उहाँले बताउनुभयो । सो अवसरमा उहाँहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो । 

भेटमा राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा जापान पठाउने सन्दर्भमा जापान सरकारको धारणा सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको जानकारी गराउनुभएको थियो । नेपाली कामदारलाई जापान लैजाने विधि र प्रक्रियाका बारेमा छलफल गर्न जापानबाट प्राविधि समूह आगामी माघमा नेपाल आउँदैछ । 

प्रतिक्रिया दिनुहोस्