Logo
Logo

प्रहरीसँग सेटिङमै जुवा



काठमाडौं । जिल्लावासीको जनधनको सुरक्षा दिने र समाजमा गरिने अबैध कारोबारलाई रोक्ने जिम्मेवारी लिएर बारामा हालै सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवा र प्रमुख जिल्ला अधिकारी कृण्णबहादुर कटुवालकै संरक्षणमा जुवाको खाल सञ्चालन हुँदैआएको छ ।

एसपी देउवा र सीडीओ कटुवालकै संरक्षणमा प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँमा जुवाको खाल सञ्चालन गरिदै आइएको हो । जुवा खेलाउनकै लागि प्रस्टोकाका तीन चार स्थानमा घर परिवर्तन गरी जुवाको खाल सञ्चालन गर्दा गाउँ नै अपराधिक गतिबिधिको केन्द्र बनेको प्रस्टोकाका स्थानीयहरुले गुनासो गरेका छन् ।

जुवाको खाल सञ्चालन गर्नका लागि जिल्लाका सुरक्षा निकायहरुलाई नेपाली कांग्रेस बाराका एक प्रदेश सभापतिले महिनावारी दररेट बुझाउने गरेको प्रस्टोका स्थानीयले बताएका छन् ।

काँग्रेस नेताले सुरक्षाकर्मीहरुलाई महिनवारी रकम कबोल गरेपछि प्रटोकाका रबिन्द्र साह, पनालाल साह लगायत चार–पाँच जनाको समूहले जुवाको खाल सञ्चालन गराइ रहेको ती स्थानीयले बताएका छन् । गाउँमा रहेका मधेशवादी र काँग्रेसका केही स्थानीय नेताहरुलाई समेत महिनावारीको भाग पुग्ने गरेको छ ।

प्रस्टोकामा जुवा खेल्न आउनेलाई पु¥याउनका लािग कलैया–वीरगन्ज सडक खण्डको भलुही चौक र कलैया नितनपुर सडक खण्डको बन्जरिया गाउँको पश्चिम हनुमान मन्दिरमा सहयोगीहरु खटाइने गरिएको छ । ठाउँ ठाउँमा खटाइएका मानिसहरुको सम्पर्कमा आउनेहरुलाई जुवाको खालसम्म पु¥याउने गरिएको छ ।

जुवाको खाल सञ्चालन गराएकाहरुले दैनिक चारदेखि पाँच लाखसम्म कमाउने गरेको प्रस्टोकाका स्थानीयहरुले बताएका छन् ।

प्रस्टोकामा भइरहेको जुवा खेल्न वीरगन्ज, हेटौंडा, काठमाडौँ र भारतको रक्सौल, आदापुर लगाएतको बिभिन्न स्थानबाट जुवाडेहरु दैनिक रुपमा आउने गरेका छन् ।

प्रस्टोका गाउँ भन्दा उत्तर र नयाँ खोलिएको हाँस फार्म भन्दा पूर्व र दक्षिणमा रहेको बाँसघारीमा दिउँसो १ बजेदेखि बेलुका सात बजेसम्म जुवाको खाल चल्ने गरेको स्थानीयले बताएका छन् ।

बाराका प्रहरी उपरीक्षक देउवाले आफू जिल्लामा आउनुभन्दा पहिला देखि नै प्रस्टोकामा जुवा खेलाउने काम गरिएको र जुवाडेहरुलाई पक्राउ गर्न प्रहरी पठाउँदा उनीहरु फेला नपर्ने गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्