काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी संसदमा पेश गर्नुपर्ने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै यसलाई सदनमा छिटो अघि बढाउनु पर्ने बताएका हुन् ।
उनले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, प्रचण्ड, केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भन्दै यसलाई सदनमै टुंग्याउनु पर्ने बताए ।
संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने उनले बताए ।
उनले भने, ‘पास भए पास, फेल भए फेल संसदमा पेश गरौं । तीन दिन, चार दिन, सात दिन, कति दिन छलफल गर्ने छलफल गरौं । दुधको दुध, पानीको पानी छुटयाऔं । देश र जनताले सबैले थाहा पाउन । पक्षमा हुनेले पक्षामा गरौं, विपक्षमा हुनेले विपक्षमा गरौं ।’
उनले कुनै पनि विषयमा कुरा मिल्न नसके गठबन्धनलाई जोगाईराख्न आवश्यक नहुने पनि बताए ।











