Logo
Logo

विवादमा पर्यटनका दुई नियुक्ति



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अन्तर्गतका मन्त्रालयमा भएका नियुक्तिहरु समाजवादी पार्टी कर्मचारी वृत्तमा आलोचनाको विषय बनेको छ । खासगरी नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीको नियुक्तिलाई लिएर सचिवालयमा ‘नोट अफ डिसेन्ट’नै लेखिएको छ । पार्टीको सिफारिसबिना अधिकारीलाई नियुक्त गरिएकोले उनलाई फिर्ता बोलाउने निर्णय भएको एकीकृत समाजवादी पार्टीका उपमहासचिव विजय पौडेलले दृष्टिलाई बताएका छन् ।

त्यसैगरी, नेपाल उडड्यन प्राधिकरणका महानिर्देशकमा नियुक्त प्रदीप अधिकारीको नियुक्ति पनि विवादमा परेको छ । सामान्यतया क्यानमा १२औँ तहका कर्मचारीहरु नियुक्त हुन्छन् । तर, यसपटक ११औँ तहका जुनियर कर्मचारी महानिर्देशकमा नियुक्त भए । अधिकारीको नियुक्तिलाई लिएर क्यानमा व्यापक असन्तुष्टि छ भने, क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

समाचार स्रोतका अनुसार क्षेत्रीलाई २०७८/७/८ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम चार वर्षको लागि निमित्त महानिर्देशकबाट महानिर्देशकमा बढुवा गरेको थियो । तर, उनलाई उमेर हदको कारण भन्दै वर्तमान सरकारले हटाएको थियो । क्षेत्रीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

हिजो सोमबार दुवै पक्षलाई उपस्थित गराउने निर्णय सर्वोच्च अदालतले गरे पनि हिजो मुद्दा टुंगो लाग्न सकेन । प्राधिकरण ऐनमा महानिर्देशकको उमेरहद तोकिएको छैन । त्यसैलाई आधार बनाएर क्षेत्री न्यायका लागि अदालत पुगेका हुन् ।

स्रोतका अनुसार २०६४ सालमा सातौं तहबाट प्राधिकरणमा प्रवेश गरेका अधिकारीको छवि राम्रो छैन । राष्ट्रिय गौरवका आयोजनाबाट उनले करोडौं कमिशन खाएको आरोप छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भनेर उनले १५० बिघा जग्गा अधिग्रहण गर्दा ठूलो रकम हात पारेको आरोप छ । ६ अर्ब १२ करोडको प्रोजेक्टका लागि उनले २०÷२२ अर्बको जग्गा खरिद गरेका थिए । उक्त जग्गा अहिले बिचौलियाहरुलाई भाडामा दिएर करोडौं कमिशन खाने योजना बनाएका छन् । त्यसका लागि जग्गा भाडासम्बन्धी मूल्यांकन कमिटी गठन गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख पूर्णिमादेखि सञ्चालनमा आउँदैछ । त्यसका लागि टर्मिनल ‘टु’ बनाउने भन्दै एशियाली विकास बैंकसँग १४ अर्ब ऋण मागेका छन् । थप ८ अर्ब प्राधिकरणले व्यहोर्ने भनेका छन् । यस कुराको प्राधिकरणभित्र व्यापक विरोध भएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडानको चाप हेरेर मात्र टर्मिनल ‘टु’ निर्माणका लागि अध्ययन गर्नुपर्नेमा कमिशनकै लागि २२ अर्बको योजना अगाडि सारेकाले त्यसको विरोध भएको हो । यस विषयमा अर्थ मन्त्रालयसँग बजेट माग गर्दा अर्थ मन्त्रालयका कर्मचारीहरुले टर्मिनल ‘वान’बाट काम चलाउँदै जानुपर्नेमा टर्मिनल ‘टु’ किन चाहियो भनेर अधिकारीलाई हप्काएका थिए ।

स्रोतका अनुसार चितवन चैनपुरमा सामान्य परिवारमा जन्मिएका अधिकारी सेटिङमा माहिर मानिन्छन् । त्यहीकारणले १२ औँ तहका पाँच जना कर्मचारीलाई उछिनेर उनी क्यानका महानिर्देशक भएको त्यहाँका कर्मचारीहरुले दृष्टिलाई बताएका छन् । अधिकारीको स्वागतमा उनी निकट ठेकेदारहरु आएबाट पनि उनको छवि राम्रो बनेको छैन । क्यान स्रोतका अनुसार समानान्तर निर्माण सेवासँग उनको भित्री साँठगाँठ छ भने उमा जेभी निर्माण सेवामा उनको भित्री शेयर रहेको छ । उनको आफ्नै कन्सल्टेन्सी पनि छ । सेटिङमा ठेक्का मिलाउँदै आएका अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अर्बको भेरिएशन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्