Logo
Logo
कांग्रेस–एमाले वार्ता

साथ खोज्न बालकोट पुगेका कांग्रेस नेता रित्तै फर्के


8.3k
Shares

काठमाडौं । संसदमा पेस भएको एमसीसी अनुमोदानका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोज्ने सत्ता नेतृत्व दल नेपाली कांग्रेसको प्रयास आज पनि असफल भएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदान गर्न सहयोग नगर्ने भएपछि प्रमुख प्रतिपक्षी दलको सहयोग खोज्दै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका नेपाली कांग्रेसका नेता आज पनि एमालेको पूरानै जवाफ सुनेर फर्केका छन् ।

कांग्रेस–एमालको छलफलपछि संचारकर्मीलाई प्रतिकृया दिँदै संचार प्रतिविधि तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने– ‘तपाईंहरुलालाई नयाँ कुरा भनौ भनेर छलफलमा जुटेका थियौं । तर, आज पनि असफल भयौं । प्रमुख प्रतिपक्षी दलले पूरानै कुरा दोहोर्यायो ।’

आजको छलफलमा पनि एमाले नेताहरुले आफ्ना मागहरु पूरा नभएसम्म कुनै पनि संसदीय प्रकृयामा सामेल नहुने प्रतिकृया दिएका छन् । सरकार प्रवक्तासमेत रहेका कार्कीले भने– ‘उहाँहरुले तपाईंहरु सरकारमा हुनुहुन्छ, संसदमा हामीलाई छलफल गर्ने वातावरण बनाउनुस्, हाम्रा मागहरु सम्बोधन भए एमसीसीबारे छलफल गर्न तयार छौं भन्नु भयो ।’

एमालेले आफूले गत साउनमा १४ सांसदलाई गरेको कारबाहीलाई संसदले मान्यता दिनुपर्ने अन्यथा सभामुखलाई नै हटाउनुपर्ने अडान राख्दै आएको छ । आजको बैठकमा पनि एमालेले सोही अडान दोहोर्याएको हो ।

छलफलपछि एमाले महासचिव शङ्कर पोखरलेलले गठबन्धनको राय अझै स्पष्ट नआउँदा एमालेले आफ्नो निर्णय दिन नसकेको बताए ।

उनले भने– ‘आजको छलफलमा पनि हामीले गठबन्धनको एउटै राय लिएर आउनुस् भनेका छौँ, उहाँहरूले गठबन्धनकै एउटै राय बनाउन सक्नु भएको छैन, उहाँहरूले गठबन्धनमा पनि छलफल जारी राख्ने, एमालेसँग पनि छलफल जारी राख्ने तर गठबन्धनको राय क्लियर नगर्ने अनि गठबन्धनको राय क्लियर नभएसम्म एमालेले निर्णय कसरी गर्ने ?’

आजको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा भने सहभागी भएनन् । दोस्रो तहका नेताहरुबीच मात्र छलफल भएको थियो ।

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता सहभागी थिए भने एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

शुक्रबार पनि राती बालकोटमै कांग्रेस र एमालेबीच छलफल भएको थियो । उक्त छलफलमा एमाले अध्यक्ष ओलीले आफ्ना मागहरु पूरा नभएसम्म कुनै पनि संसदीय प्रकृयामा सामेल नहुने प्रतिकृया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्