Logo
Logo

सगरमाथाको गलत हल्लाबारे बीबीसीमार्फत प्रधानमन्त्री ओलीद्वारा खण्डन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ जेठ ।
सगरमाथामा जामबारे विश्वमा अनावश्यक हल्ला फैलिएको भन्दै प्रधानन्त्री केपी शर्मा ओलीले त्यसको खण्डन गरेका छन् । बीबीसी विश्वसेवालाई मंगलबार अन्र्तवार्ता दिदै उनले गलत हल्ला गरिएको बताएका ह्न।
‘‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’’ओलीले भने ।


आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गर्नुभयो । “हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सख्या, अक्सिजन सिलिण्डरको संख्या, तयारी आवश्यकता, आरोहणको उचित सख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’’, प्रधानमन्त्री ओलीले भने ।
पैसा कमाउन धेरैलाई सगरमाथा आरोहरण गर्न दिदा जामका कारण कतिपय आरोहीको मृत्यु भएको समाचार विश्वभरी फैलिएको थियो । तर, जामका कारण नभई अन्य कारणले उनीहरुको मृत्यु भएको सरकारले जनाएको छ ।

आवश्यकताका आधारमा वैदेशिक ऋण
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा ऋण वैदेशिक लिने बताए ।
नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा ओलीले भने ‘‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’’

विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने बताए । उनको भनाई थियो, ‘‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ । नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’’ उनले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्