
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता नै खतरामा पर्ने देखिएपछि एमसीसी अनुमोदन गरिएको बताएका छन् ।
एमसीसीबारे उठेका प्रश्नहरुको जवाफ दिन सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले शान्ति सम्झौता नै खतरामा पर्ने देखेपछि एमसीसी अनुमोदन गर्न तयार भएको र अनुमोदन भएको बताएका हुन् ।
सरकार ढल्ने या नयाँ गरका गठन गर्ने प्रकृयामा मात्र नभएर शान्ति सम्झौता र त्यसको जगमा बनेको संविधान नै खतरामा पर्ने परिस्थिति देखेपछि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न तयार भएको उनको भनाइ रहेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘मैले के चित्र देख्न थाले भने– यो विषयलाई हामीले ठिक ढंगले हेण्डल गरेनौं भने शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने चित्र देखे मैले । धेरै ठूलो कुरा हो यो । शान्ति सम्झौताका बाँकी काम पूरा गर्नुछ हामीले । संविधान डिरेल हुने खतरा, यो सरकार जाने आर्को सरकार आउने कुरा मात्र थिएन । यो गठबन्धन टुट्यो भने सरकार गयो अर्को आउने खतरा मात्र देखिएन, धेरै चिज उल्टिने खतरा देखियो । त्यसैलै व्याख्यात्मक घोषणासहित पारित गर्न तयार भयौं ।’
अध्यक्ष प्रचण्डले सहि तरिकाले एमसीसीको व्यवस्थापन गरिकाले देश ठूलो दुर्घटनाबाट बचेको समेत बताएका छन् ।











