काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो आग्रह गरेको हो ।
लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भएकाले प्रमुख प्रतिपक्षी दललाई सदन सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

साथै, बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।
‘एमसीसीको अन्यौल चिरेर अनुमोदन गर्न सहयोग गर्नुभएकोमा सबैलाई धन्यवाद । प्रचण्डजी र माधवजीलाई अझ विशेष धन्यवाद’, बैठकमा प्रधानमन्त्री देउवाले भने ।
गठबन्धन बैठकमा एमसीसी अनुमोदनपछिको राजनीतिक कोर्सबारे छलफल भएको थियो । प्रवक्ता कार्कीका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको थियो । बैठकमा स्थानीय निर्वाचनमा चुनावी तालमेलको सन्दर्भमा पनि छलफल भएको थियो ।
गठबन्धनका अपरिहार्यता महसुस भए पनि चुनावी तालमेलबारे दलहरूभित्र आन्तरिक बहस भएर निष्कर्षमा पुग्नुपर्ने कार्कीले बताए । उनले भने, ‘चुनावी तालमेलबारे सबै दलभित्र छलफल हुनै बाँकी छ । गठबन्धन रहन्छ तर तालमेलबारे प्रष्ट भइसकेको छैन ।’











