काभ्रेपलाञ्चोक । युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन् ।
काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का विषयमा नेपालीको स्वाभिमान झुक्न नदिइएकोसमेत दाबी गरे ।

उनले भने, ‘एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन, यदि १२ बुँदे व्याख्यात्मक टिप्पणीको बेवास्ता भए हामीले मानिहाल्नुपर्ने अवस्था रहन्न ।’
कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री रत्न ढकालले शहीदको रगतले नयाँ नेपाल बनाउने प्रेरणा मिलेको जनाउँदै राजनीतिक स्थिरता तथा समाजवाद उन्मुख परिवर्तनको आवश्यकता औंल्याए ।
सांसद गङ्गाबहादुर दोङले एमसिसीका विषयमा सकारात्मक पहलबाट देश विभाजन हुनबाट जोगिएको धाराणा राख्नुभयो । पूर्व राज्यमन्त्री सूर्यमान दोङले एमसिसीलाई आधार बनाइ संविधानमाथि गर्न खोजिएको आक्रमण सुझवुझपूर्ण ढङ्गले टारिएको बताए ।
सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का प्रदेश सदस्य लोकबहादुर गौतम, नेकपा (माओवादी केन्द्र)को काभ्रेपलाञ्चोक अध्यक्ष रुकु चौलागाईं, चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम, रामेछापको सुनापति गाउँपालिका अध्यक्ष दावा लामा, चौंरीदेउराली गाउँपालिका – ३ का वडाध्यक्ष विनोद घिसिङ र ७ का वडाध्यक्ष वीरबल लामालगायतले शहीदको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रमका अवसरमा मन्त्री गहतराजले गाउँपालिकाद्वारा आफ्नो क्षेत्रका सशस्त्र द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका ३५ परिवारलाई चालू आर्थिक वर्षबाट मासिक रु दुई हजार दिने घोषणा गरेअनुसारको रकम लक्षित परिवारलाई सम्मानसँगै हस्तान्तरण गर्नुभएको थियो ।











