Logo
Logo

माफियाको मुठ्ठीमा कर्मचारी, अख्तियारद्वारा मुद्दा दायर



काठमाडौं । निजामती प्रशासनलाई बदनाम गराउने कार्यालयमा मालपोत र नापी पर्दछन् । यी कार्यालयलाई सर्वाधिक घुस लेनेदेन हुने कार्यालयका रुपमा चिनिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले पनि त्यही देखाउँछ । कर्मचारीहरुले मालपोतमा लुटधन्दा नै मच्चाइरहेको आयोगका पछिल्लो छानबिनले देखाउँछ । भू–माफियाको समूहले सजिलै कर्मचारीहरुलाई प्रभावमा पारी करोडौंको अनियमितता गराउँदै र यसका कारण राज्यबाटै नागरिकका सम्पति असुरक्षित रहेको देखाएको छ । आयोगले हालै जग्गासम्बन्धि अनियमिता घटनामा काठमाडौं, झापा र रुपन्देहीका तीन वटा घटनाको अनुसन्धान गरी मुद्दा दायर गरेको छ । जसबाट नेपालको कर्मचारीतन्त्रले कुन हदसम्मको बेइमानी गर्दछन् भन्ने प्रष्ट हुन्छ ।

१० करोडको सेटिङ
काठमाडौं बूढानीलकण्ठस्थित चन्दनकृष्ण कायस्थको २ रोपनी ८ आना जग्गामा नक्कली जग्गाधनी खडा गरी बिक्री भयो । जसमा मालपोत कार्यालय चाबहिलका ३ अधिकृतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।
अख्तियारले नक्कली जग्गा धनी निर्माण गरी जग्गा खरिदबिक्रीमा संलग्न भएको भन्दै मालपोत कार्यालय चाबहिलका प्रमुख अधिकृत कमलप्रसाद तिमल्सिना, अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, टाइपिष्ट नासु जमुनाकुमारी श्रेष्ठ र कार्यालय सहयोगी हरि खड्कालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बिचौलियाहरु चन्दकृष्ण कायस्थ भन्ने राजु थापा मगर, सानुभाइ भन्ने सानेभाई श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपाल मोक्तान भन्ने भुपालसिंह तमाङ, धुव्रप्रसाद भट्टराई र प्रदीपप्रसाद गौतममाथि पनि मुद्दा दायर गरिएको छ । अख्तियारले उनीहरुसँग जनही ६ करोड बिगो र जरिवाना हुनुपर्ने दाबी गरेको छ ।
यस्तो ठगीमा बैंक तथा सहकारीका कर्मचारीले समेत साथ दिएका थिए । अख्तियारले अर्थ कवच तथा बचत ऋण सहकारी संस्थाका निर्देशक नवदुर्गा प्रसाद ढुङ्गेल, प्रबन्ध निर्देशक सुरेशकुमार थापालाई पनि विपक्षी बनाएको छ। उनीहरुसँग पनि ६ करोड असुल हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

सानिमा बैंक पनि संलग्न
सानिमा बैंक एकान्तकुनाका ट्रेलर सनिश सापकोटाको समेत उक्त जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै अख्तियारले ६ करोड बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भयो । उनले जग्गा किनबेचवापत पैसा लेनदेन भएको भनेर नक्कली भौचर बनाइदिएका थिए ।
मालपोत कार्यालय चाबहिलका कर्मचारीहरूको मिलेमतोमा कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिको नक्कली जग्गाधनी प्रमाणपूर्जा निर्माण गरी हस्तान्तरण गरेको अख्तियारको अनुसन्धानमा खुलेको थियो । राजु थापा मगर समेतले मालपोत कार्यालयका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई गैरकानुनी तरिकाबाट आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा निर्माण गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अधिकृत वारेसनामा मार्फत पारित राजिनामाको लिखत तयार गरी नक्कली जग्गाधनीको नामबाट गैरकानुनी तरिकाबाट जग्गा खरिदबिक्री समेत भएको अख्तियारको अनुसन्धानमा देखिएको छ । यस विषयमा प्रहरीले समेत कारबाही गरिसकेको छ ।

झापाको जग्गा काठमाडौंबाट बिक्री
झापाको दमक– २ स्थित टेकमाया आङहाङको जग्गा पनि मालपोत कर्मचारीको मिलेमतोमा भूमाफियाले बिक्री गरेका थिए । २०६९ सालमै मालपोत कार्यालय डिल्लीबजारमा बेजिल्ले पास गराएको कागजपत्र बनाएर सो जग्गा बिक्री भएको थियो । जसमा डिल्लीबजार मालपोत र झापा मालपोतका कर्मचारीलाई पक्राउ गरी आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालिन मालपोत अधिकृत केशब प्रसाद न्यौपाने, राजेन्द्रकुमार फुयाल, नासु लक्ष्मण भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, झापाका मालापोत अधिकृत अग्नि घिमिरे, नासु डिल्ली कोइराला, जयन्द्र खड्का, फौदराज लिम्बु र अधिवक्ता चन्द्रप्रसाद खनालविरुद्ध मुद्दा दायर गरिएको छ ।
यो गिरोहका माफिया फौदराज लिम्बु हुन् । जसलाई अख्तियारले पक्राउ गर्न सकेन । उनले अधिवक्ता खनालमार्फत यो काम गराएका थिए । अधिवक्ता खनालले मालपोत कार्यालय डिल्लीबजारको गोप्य लिखत ठेलीमा बेजिल्ले पास गरिएको पत्र घुसाएर सोही आधारमा झापामा पत्राचार गर्न लगाएर जग्गा बिक्री गराएका थिए । जग्गा धनी आङहाङ भारतमा बस्ने भएकाले उनलाई थाहा नै नदिई जग्गा बिक्री गरिएको थियो ।


सार्वजनिक जग्गा व्यक्तिलाई
रुपन्देहीमा पनि कर्मचारीले सार्वजनिक जग्गालाई व्यक्तिको बनाउन भूमिका खेले । नापी अधिकृत घनश्याम दुवे, नापी सर्वेक्षक शौकात अली खाँ, मालपोतका नासु बलराम श्रेष्ठ र वडा सचिव धनेन्द्रराज गुरुङले व्यक्तिको जग्गामा सार्वजनिक जग्गा लुकाउन खोजे्का थिए । सिद्धार्थनगर वडा नम्बर ३ स्थित अन्जली बाँनियाको जग्गामा सरकारी जग्गा नघुसेको भनेर गलथ सर्जिमन रिपोर्ट दिएका थिए । जसमा तीनै जना कर्मचारीविरुद्ध गत १३ पुसमा मात्र आयोगले मुद्दा दायर गरेको छ ।

करोडपति कार्यालय सहयोगी
कर्मचारीहरुले कतिसम्म बदमासी गर्छन् भन्ने कुरा चाबहिल मालपोतको एउटा अनियमितताले देखाउँछ । चाबहिल मालपोतका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले नक्कली रसिद बनाएर राजश्व नै खल्तीमा हाल्दै आएका थिए । जग्गा दाखिला खारेज गर्दा तिर्नुपर्ने दस्तुर नक्कली रसिद बनाएर रकम खल्तीमा हाल्दै आएका थिए । त्यसमध्ये एक रसिदबाट पाँच लाख ६८ हजार दुई सय ८ रुपैयाँ अनियमिता गरेको भन्दै आयोगले गत १६ गते मुद्दा दायर गरेको हो । गत वर्षपनि उनीविरुद्ध यस्तै प्रकृतीको मुद्दा दायर भएको थियो ।
कार चढ्ने कार्यालय सहयोगी बस्नेत यस्ता व्यक्ति हुन् जसले कार्यालयका प्रमुखलाई काम लगाउने हैसियत राख्थे । किनकी मालपोत प्रमुख मात्र होइन विभागका महानिर्देशकसम्म सरुवा गर्ने हैसियत उनले बनाएका थिए । भूमाफिया गिरोहसँगको सम्बन्धका कारण बस्नेतले यस्तो हैसियत बनाएका हुन् ।
यी घटनाले कर्मचारीतन्त्रमा ठूलो सुधारको आवश्यकता प्रष्ट हुन्छ ।

बैंकमा यस्तो पनि हुँदोरहेछ
नेपालमा बैंकहरुमा कतिसम्म लापरबाही छ भन्ने कुरा हालैको एक घटनाबाट प्रष्ट भएको छ । एक युवकले सजिलै राष्ट्रिय वाणिज्य बैंकलाई ७८ लाख रुपैयाँ ठगी गर्न सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकको कोर बैंकिङ सिस्टमको कमजोरी पत्ता लगाई उनले बैंकलाई ठगी गरेका हुन् ।
सो बैंकमा डलर खाता खोलेका थिए । बाणिज्य बैंकको सिबिएस सिष्टममा एक रुपैयाँ जम्मा गर्दा एक डलर जम्मा हुने समस्या थियो । त्यसरी उनको खातामा ७८ हजार तीन सय ८० डलर जम्मा गरी विभिन्न माध्यमबाट निकालेर ठगी गरेका हुन् । अनलाइन बैंकिङमार्फत त्यसरी खातामा पैसा जम्मा गर्दथे ।
त्यसरी जम्मा गरेको पैसा नेपालमै एटिएममार्फत निकाल्थे । केही महिनाअघि जापान गएपछि सोही खाताबाट सपिङ गरे । त्यसपछि डलर खर्च भएपछि मात्र बैंकले पत्ता लगाई प्रहरीमा उजुरी दिएका थिए । यो घटनाले नेपालको बैंकिङ क्षेत्रमा रहेको जोखिम भने प्रष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्