कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको ‘व्याख्यात्मक घोषणा’को नाममा जनतामाथि भ्रम छर्ने काम भएको बताएका छन् ।
बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कानुन र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारेको उनको आरोप छ ।

नेता पोखरेलले ‘व्याख्यात्मक घोषणालाई लाज जोगाउने प्रयास’को संज्ञा दिए । उनले भने, ‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन ।’ उनले सम्झौता हस्ताक्षर गरेकै दिन एमसीसी पारित भएको भन्दै सत्ता र शक्तिको लागि गठबन्धन तयार भएको टिप्पणी गरे ।
एमसीसी प्रकरणबारे सभामुख अग्नि सापकोटाको समेत आलोचना गरेका थिए । उनले सभामुखलाई इंगित गर्दै भने, ‘टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो । अहिले राजनीतिक पूर्वाग्रही भएको पुष्टि भएको छ ।’
नेता पोख्रेलले गठबन्धनको औचित्य नरहेको बताउँदै परमादेशको सरकारलाई जनादेशबाट विस्थापित गर्ने दाबी गरे ।
नेता पोखरेलले आगामी दिनमा पनि संसद् अवरोध कायमै राख्ने बताउँदै भने, ‘१४ जना सांसदलाई कारबाही नभए वा सभामुखले राजीनामा नदिएसम्म हाम्रो विरोध जारी रहन्छ ।’











