
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसदको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका हुन् ।
‘संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ’, उनले भने ।
पूर्वसभामुखसमेत रहेका पौडेलले लामो समयसम्म संसद अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए । निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद रहेको उनको धारणा थियो ।
वरिष्ठ नेता पौडेलले संघीयता तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी सङ्घीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गरे । उनले पेशागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निजामती सेवा ऐन तत्काल संसद्बाट पारित गर्नुपर्ने बताए । ‘सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्छ’, उनले भने ।
उपसभापति गुरुङले नेता र कर्मचारी देश र जनताप्रति इमान्दार भए मुलुकभित्र रहेको विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य हुने बताए । आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।














