काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सोमबार बसेको बैठकले स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको हो ।
बैठकले दुईमहिने निर्वाचन केन्द्रित कार्यक्रम बनाएको छ । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गरेर सबै सदस्यलाई प्रदेश, जिल्ला र पालिकामा केन्द्रित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए । बैठकले स्थानीय निर्वाचनमा आवश्यक चुनावी तालमेलको वातावरण बनाउन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलले सम्बन्धित तहमा वार्ता संवाद गर्नेछ ।

माओवादीले ७५३ पालिका र छ हजार ७४३ वडामा एकल रूपमै भए पनि निर्वाचन लड्ने निर्णय गरेको पनि उनले जानकारी दिए । “आफ्नै खुट्टामा उभिएर, आफ्नै शक्तिमा भर गरेर निर्वाचनमा जाने निर्णय भएको छ”, नेता पुनले भने, “जहाँजहाँ अन्य दलसँग तालमेल गर्न सकिन्छ त्यहाँत्यहाँ गठबन्धन गर्ने गरी कार्यदल बनाएर निर्वाचन लड्ने बैठकको निर्णय छ ।”
बैठकले पार्टी विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोनयन गरेको छ । यस्तै २५ प्रतिशतमा नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने निर्णय गरेको छ । बैठकले आगामी केन्द्रीय समिति बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो टुङ्ग्याउने निर्णय गरेको नेता पुनले जानकारी दिए ।
व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसिसी सम्झौतालाई लिएर आएको मतभेदलाई सम्मानजनक ढङ्गले पार्टी केन्द्रीय समितिमा दर्ज गरिराख्ने र आगामी जेठ २० गते बस्ने अर्को केन्द्रीय समिति बैठकमा छलफल गरेर टुङ्गोमा पुग्ने निर्णय भएको उनको भनाइ छ ।
वडा र टोलसम्म सञ्चार शाखा बनाउने
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले टोलसम्म नै सञ्चार तथा प्रसारका शाखा गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना सञ्चार तथा प्रचार सम्बन्धि कार्यक्रम अन्तर्गत ती शाखा निर्माण गरी प्रचारकाकामलाई तीब्रता दिन लागेको हो ।
पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत दुई महिने अभियान अन्तर्गत सामाजिक सञ्जालमा प्रचार समूहहरु निर्माण गर्ने र उक्त दुई महिने अभियानका गतिविधिहरुको व्यापक प्रचार प्रसार गर्ने निर्णय गरेको हो । उक्त अभियानमा अन्य महत्वपूर्ण सूचना तथा समाचारहरु संकलन गर्ने पनि निर्णय गरेको छ ।
गठबन्धनसँग तालमेलका लागि कार्यदल
सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने भएको छ ।
केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन जाने विषयमा टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको हो । ‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, नेता वर्षमान पुनले भने ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ ।’
उनले हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिस अनुसार उम्मेदवार बनाउने बताए । माओवादीले आगामी चुनावमा तालमेल गर्ने बताइरहँदा सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेसमा भने गठबन्धनसहित चुनावमा जाने विषयमा विमति देखिएको छ ।
प्रदेश इन्चार्जहरु को-को तोकिए ?
माओवादी केन्द्रले सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको छ । जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् ।
लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।
अर्को केन्द्रीय समिति बैठक जेठ २० मा
माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ । गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ ।
अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनले बताए ।














