Logo
Logo

आज ११२औँ अन्तराष्ट्रिय महिला दिवस: राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना


2.2k
Shares

काठमाडौं । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस छ । ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

नेपालको संविधानले पनि महिलाउपर हुने सबै खाले भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।

संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।

राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ । यद्यपि नेपालको संविधानले प्रत्याभुत गरेको सबै महिला हक अधिकारको कार्यान्यन पूर्णरुपमा भने हुन सकेको छैन ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन आह्वान गरेकी छन् ।

उनले भनेकी छन्, ‘महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ। फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ। पछिल्लो समयमा लैंगिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ। यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्छ ।’

उपराष्ट्रपति पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने उल्लेख गरेका छन् । महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको स्मरण गराएका छन् ।

संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्