Logo
Logo

पुरुषलाई पनि पीडा छ : रेखा थापा



काठमाडौं । अभिनेतृ रेखा थापाले पुरुषलाई पनि पीडा र दुःख भएको बताएकी छन् । ११२औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)का अवसरमा राजधानीमा आयोजित ‘महिला हिजो आज र भोलि’ विषयक अनेरास्ववियू क्रान्तिकारिको सडक बहसमा सम्बोधनका क्रममा नायिका थापाले यस्तो बताएकी हुन् ।

कार्यक्रममा उनले पुरुषको दुःख र पीडालाई हटाउनका लागि पनि घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्ने बताईन् । ‘पुरुष त भमँरा हो, पुरुषले त फूलमा बस्छ पनि यस्तो पनि अभिव्यक्ति हुन्छ ? यस्तो पनि समाज हुन्छ ? हामी कुन खालको समाजको परिकल्पना गरिरहेका छौँ ?’ उनले प्रश्न गर्दै भनिन् । उनले आफु पुरुष विरोधी नभएको पनि बताईन् । ‘पुरुषलाई पनि पीडा छ, पुरुषलाई पनि दुःख छ । तर, त्यो दुःख र पीडा हटाउनका लागि त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ’, उनले भनिन्, ‘ एउटा कम्जोर महिलाको बुवा, श्रीमान, प्रेमी, भाई कमजोर नै हुन्छ । अनि कुन क्रान्तिको र पुरुषत्वको कुरा गर्छौैँ हामी यो समाजमा ?’ उनले प्रश्न गरिन् ।

‘नारीलाई नजर अन्दाज गरेर महिला बन्ने तालिम दिएर हामीले कुन समाजको परिकल्पना गर्न खोजिरहेका छौँ’, उनले प्रश्न गरिन् । यस्तै सिंहदरबारभित्र महिलाको सहभागिता कम भएको पनि उल्लेख गर्दै राजनीतिक दलको पार्टी महाधिवेशनमा महिलाको चर्को आवाज उठ्ने गरेता पनि पछि गएर महिलाहरु कोटामा मात्रै सिमित हुने गरेको उनले गुनासो गरिन् ।

देश र जनताका लागि आवाज उठाउने नेताहरु सत्तामा पुगेपछि गरिब जनताको पीडालाई कुल्चने गरेको पनि उनले उल्लेख गरिन् । ‘हामीहरु देशका लागि आवाज उठाउँछौँ, जब सत्तामा ती हामीले मानेका नेताहरु पुग्छन्, उनीहरुको छेउमा को हुन्छ ? आफ्नो श्रीमती, आफ्नो भदै, प्रेमीका, छोरी, ज्वाइँ यो बोहक त मैले कोहि पनि देखेको छैन’, उनले भनिन् । ‘बर्षौदेखि संघर्ष गरेका कार्यकर्ताहरुलाई पाखा लगाईन्छ । अनि यसरी राजनीती गरिएको छ, यो सताब्दीमा पनि खोई त महिलाहरुको आवाज ? खोई त बोल्न सकेको आफ्नो नेताको विरुद्धमा ? खोई त कदम चालेको ? भाषाणले मात्र सीमित हुँदैन जस्तो लाग्छ मलाई ।’ उनले भनिन् ।

यस्तै उनले महिलामा हेर्ने दृष्टिकोण महिला मात्रै भएको उल्लेख गर्दै भनिन्, ‘हामीलाई मान्छे हुन दिएको भए पनि समानता हुन्थ्यो होला । महिलाको शक्तिशाली रुप भनेको प्रेम हो ।’

प्रतिक्रिया दिनुहोस्