Logo
Logo

मालपोतमा रोकिएन अनियमितता, एकैपटक २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ जेठ ।
मालपोत कार्यालयहरुमा भ्रष्टाचार बढेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा बाँके र बर्दियाका २८ जना मालपोत कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा कौशल भन्ने खैरुल हसन अन्सारीसँग मिलेर व्यक्तिको नाममा दर्ता गरिएको थियो । सरकारी मोठ–स्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको खुलेपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरूविरुद्ध यसअघि प्रहरीले समेत मुद्दा दायर गरिसकेको छ ।

मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल, मालपोत अधिकृतहरू पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायव सुब्बाहरू रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञेश्वर वली, सहायक कम्प्युटर अपरेटर (करार) प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरू सुशील रिजाल, सञ्जयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीविरुद्ध मुद्दा दायर भएको हो ।

त्यसैगरी, मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायव सुब्बाहरू कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, खरिदारहरू भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारू, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा कौशल भन्ने खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल र लेखापढी व्यवसायीहरू बिरु भन्ने बृहस्पति खड्का र पप्पु धोबीविरुद्ध मुद्दा दायर भएको हो । बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत पोखरेललगायतविरुद्ध दुई करोड १६ लाख ७३ हजार तथा बाँकेका कर्मचारीविरुद्ध दुई करोड ३० लाख ७२ हजार रुपैयाँ बिगोदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्