काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले गठबन्धन दल बीचमा अविश्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओलीले कायम राखेको बताए ।
अध्यक्ष नेपालले भने, ‘गठबन्धन बीचमा अविश्वास पैदा गर्ने र सत्ता गठबन्धनलाई तोड्ने षड्यन्त्र अझै भइरहेको छ ।’ यसअघि एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारबाही गरेर कांग्रेससँग मिल्ने योजना गरेको भएपनि त्यसमा ओली असफल भएको बताए ।
अध्यक्ष नेपालले ओलीले अझैपनि आफूलाई शक्तिशाली रहेको भ्रम रहेको बताउँदै भने, ‘कुनै मान्छेहरूलाई अझैपनि शक्तिशाली हामी हौँ भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ ।’














