Logo
Logo

तीन राजदूतको एग्रिमो किन आएन ?




काठमाडौं । सरकारले नियुक्ति गरेका भारत र मलेसियाका राजदूतको एग्रिमो एक महिना बितिसक्दा पनि आएको छैन । सरकारले २०७५ कात्तिक २५ मा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई राजदूतमा सिफारिस गरेको थियो । इजरायलका लागि नियुक्त भएकी अन्जान शाक्यको एग्रिमो आएर उनी त्यसतर्फ गइसकेकी छन् । भारत, मलेसिया र युएईका लागि नियुक्त भएका राजदूत क्रमशः आचार्य, पाण्डे र ढकालको एग्रिमो आएको छैन । सरकारले राजदूतमा सिफारिस गरेका चारै जना संसदीय सुनुवाइ समितिबाट गएको मंसिर २३ मा अनुमोदन भएका थिए । अनुमोदन भएको पनि १ महिना पुगिसकेको छ । सामान्यतया नियुक्ति भएको सिफारिस सम्बन्धित देशमा पठाएको २ हप्तामा एग्रिमो आउने गरेको छ । तर एक महिनासम्म पनि एग्रिमो नआएपछि सम्बन्धित देशले उनीहरुलाई अस्वीकार गरेको अर्थ कूटनीतिक बृत्तमा लगाउन थालिएको छ । कम्युनिष्टलाई गाली गर्दै २०५२ मै नेपाली कांग्रेसमा प्रवेश गरेका निलाम्बर आचार्यलाई दुई देशको प्रबुद्ध समूहमा बसेको र भारतले रुचाइएका नरम भनेर राजदूत बनाइएको हो । तर भारतले एक महिनासम्म आचार्यको पनि एग्रिमो पठाएन । भारतमा नियुक्त भएका राजदूतको एग्रिमो सामान्यतया १५ दिनभित्रै आउने गरेको छ ।
त्यस्तै मलेसियाले पनि राजदूत उदयराज पाण्डेको एग्रिमो पठाउन बिलम्ब गरिरहेको छ । मलेसियाले एग्रिमो पठाउन बिलम्ब गर्नुलाई श्रमिक समस्यासँग जोडेर हेर्ने गरिएको छ । नेपालले गएको कात्तिक १२ मा मलेसियासँग श्रम सम्झौता गरेको थियो । सम्झौतामा १० हजार भिसा लागिसकेका कामदारलाई तत्काल पठाउने उल्लेख थियो । त्यो सम्झौता पालना नगरेकाले मलेसिया नेपालसँग चिढिन पुगेकाले पनि एग्रिमो आउन ढिलाइ भएको आशंका प्रकट गरिएको छ । मलेसिया नेपाली कामदार जाने प्रमुख गन्तब्य मुलुक हो । तर विगत ८ महिनादेखि नेपाली श्रमिक मलेसिया जानपाएका छैनन् । मलेसियाको श्रम बजारमा नेपाली श्रमिकको माग उच्च छ । तर नेपालले कामदार पठाउने प्रक्रियाका लागि खडा गरिएका भीएलएन, बायोमेट्रिक जस्ता संस्थाबाट कामदार नपठाउने भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले अल्झाइरहेका छन् । श्रम सम्झौतामा ती संस्था खारेज गर्न मलेसियालाई सहमत गराउन नसकेका मन्त्री बिष्ट कामदार पठाउन रोकेर मलेसियालाई झुकाउने रणनीतिमा छन् । जसका कारण मलेसियाले नेपालको दूताबाससमेत बन्द गरेको खण्डमा आश्चर्य नमाने हुने परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । मलेसियाले नेपालमा दूताबास श्रमिकको भिसा सहजीकरणका लागि मात्र राखेको हो । श्रमिक नै पठाउन बन्द गरेपछि दूताबासको कुनै आम्दानी पनि हुँदैन, काम पनि छैन, खर्च कटौतीको दिशामा केन्द्रित महाथीर सरकारले दूताबास नै बन्द गर्नसक्ने संभावना छ । दिल्लीकै दूताबासबाट नेपाल हेर्नेगरी नेपालको दूताबास बन्द गर्नेतिर मलेसिया जानसक्ने संभावनालाई नकार्न नसकिने परराष्ट्र स्रोत बताउँछ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालसँग बुझ्दा उनले भने–‘चार राजदूतमध्ये इजरायलका लागि नियुक्त अन्जान शाक्यको एग्रिमो आइसकेको छ । तीन राजदूतको प्रक्रियामा छ । क्रिसमस, नयाँ बर्ष सबै एकैपटक परे, विभिन्न मुलुकको आ आफ्नै प्राक्टिस हुन्छ । कसैको असाध्यै छिट्टै गर्ने प्राक्टिस हुन्छ, कसैको अलि निकै लामो आन्तरिक प्रक्रियाहरु हुन्छन् । २ हप्तादेखि ४–५ महिनासम्म लाग्न सक्छ । यसअघि ४–५ महिनापछि एग्रिमो आएका उदाहरण पनि छन् ।

प्रतिक्रिया दिनुहोस्